रोल्पा- जिल्लामा बालविवाहको मात्रा अत्यधिक रहेको भन्दै न्यूनीकरणका लागि विभिन्न अभियान सञ्चालन भइरहेका छन्।
लामो समयदेखि बालविवाह न्यूनीकरणका विभिन्न अभियान सञ्चालन भए पनि अपेक्षाकृत उपलब्धि हासिल हुन नसकेको भन्दै थप अभियान सञ्चालन गरिएको हो।
गरिबी तथा चेतनाको अभावका कारण हुने बालविवाहले लैंगिक हिंसासमेत बढ्दै गएको बताइएको छ। बालविवाह न्यूनीकरणमा किशोरकिशोरीका साथै उनका अभिभावकमा समेत सचेतना जरुरी रहेको भन्दै अभिभावक शिक्षासमेत प्रदान गरिएको बालविवाह न्यूनीकरण सहजकर्ता तीर्था आचार्यले बताइन्।
जिल्लामा अत्यधिक बालविवाह हुने खुंग्री, कोटगाउँ र लिवाङमा परीक्षणका रुपमा किशोरी शिक्षा तथा किशोरीका अभिभावकका लागि तालिम सञ्चालन गरेको उनले बताइन्।
प्रजनन स्वास्थ्य, किशोरावस्था तथा विवाहसम्बन्धी प्रचलित कानूनको समेत जानकारी नभएका अभिभावकलाई यस्ता विषयको जानकारीले बालविवाह न्यूनीकरणमा सहयोग पुग्ने अपेक्षा गरेको आचार्यको भनाइ छ।
बालविवाहले किशोरीको स्वास्थ्यमा असर पर्ने कुरा विगतमा आफूहरुलाई थाहा नभएका कारण बालविवाह गराएको अभिभावक कमला गुरुङले बताइन्।
पछिल्लो तथ्यांकअनुसार रोल्पामा हुने विवाहमध्ये ६५ प्रतिशत बालविवाह रहेका छन्। बालविवाह न्यूनीकरणका लागि युएनएफपीएको सहयोगमा नेपाल रेडक्रश सोसाइटी, रोल्पाले कार्यक्रम सञ्चालन गरिरहेको छ।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।