दुनै, डोल्पा- भाइ तिहार सकिएको दुई महिनापछि आज कर्णालीवासीले छोरा तिहार पनि मनाएका छन्। नेपालमै कतै नमनाइने छोरा तिहार प्रत्येक वर्ष पौष शुक्ल द्वितीयका दिन कर्णालीका जुम्ला र डोल्पाका सर्वसाधारणले धुमधामका साथ मनाउने गर्दछन्।
भाइटीका जस्तै छोरा तिहारमा पनि आमाले छोरालाई निधारमा अक्षता, गलामा माला र सगुनका रुपमा घरमै बनाइएको सेलरोटी, फिनीरोटी, चिनीरोटी जस्ता परिकारसहित छोरालाई टीका लगाउने प्रचलन छ।
टीकासँगै छोरालाई दीर्घायु र प्रगतिको कामना गर्दै आशीर्वाद दिने गरिन्छ। छोराले पनि आमालाई दक्षिणाका रुपमा पैसा, धोती, चोली लगायतका सामग्री दिएर टीका थाप्ने गरेका छन्। छोरा तिहारमा आमाको हातबाट टीका थापिसकेपछि सम्पूर्ण पुरुष जम्मा भई प्रत्येक घर–घर तथा गाउँ–बस्तीमा पुगेर भैलो खेल्ने प्रचलन छ।
आजको दिन महिलाहरु सार्वजानिकस्थलमा भेला भएर चुट्किला–देउडा खेलेर रमाइलो गर्ने र एकअर्काको पीर–व्यथा साटासाट गर्ने गर्छन्। भाइ तिहारमा खेलिनेलाई देउसी र छोरा तिहारमा खेलिनेलाई भैलो भनेर भनिने त्रिपुरासुन्दरी–१ का स्थानीयवासी रविप्रसाद न्यौपानेले बताए।
भैलो खेलेर मागेको चामल, धान, पैसा सबै मिलेर पाठी भात (स्थानीय भाषामा) खाने प्रचलन रहेको समेत उनले बताए।
छोरा तिहारमा आमा नहुनेले स्थानीय मन्दिरमा गएर पुजारीको हातबाट टीका–अक्षता लगाएर छोरा तिहार मनाउने गर्दछन्।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।