चरिकोट- जागिर सकिनु तीन दिन अगावै खाना खान नपाएपछि जिल्ला प्रहरी कार्यालय दोलखामा खटिएका सबैजसो म्यादी प्रहरी घर फर्केका छन्।
जिल्ला प्रहरी कार्यालय दोलखाभित्र म्यादी प्रहरीले महँगो रकम तिरेर खाना खानुपरेको र ज्यामीको काममा लगाएको भन्दै उनीहरु आन्दोलनमा उत्रिएका थिए। खाना खाएको स्थान प्रहरीको मेसबाट बन्द गरेका कारण आफूहरु घर फर्केको म्यादी प्रहरीले बताएका छन्।
खाना खान नपाएपछि घर जिरी फर्कंदै गरेका म्यादी प्रहरी शिव खड्काले आफूहरुले आन्दोलन गरेपछि प्रहरीको मेसमा दुई छाक खाना नपाएको बताए।
‘बाहिर गएर चाउचाउ त खाइयो तर सधैं खाएको स्थानमा खाना खान नपाउँदा बाहिर खाने ठाउँ भएन। त्यसैले घर फर्कियौं,’ उनले भने।
सोमबार खानाको रकम घोटला भएको भन्दै आन्दोलन गर्दा प्रहरीले लाठी प्रहार गर्दा १२ जना म्यादी प्रहरी घाइते भएको उनीहरुको भनाइ छ। केही म्यादी महिला प्रहरीले आफूहरुमाथि महिला हिंसासमेत भएको आरोप लगाएका छन्। सोमबार म्यादी प्रहरीहरुले नाराबाजी गर्दै बजार परिक्रममा गरेका थिए।
यता जिल्ला प्रहरी कार्यालय दोलखाका प्रमुख रामेश्वर कार्कीले सोमबार बेलुका र मंगलबारको खाना केही म्यादीले बाहिर गएर खाएको बताए।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।