रसुवा- रसुवा र नुवाकोटको संगमस्थल बेत्रावतीको उत्तरगयामा पौषे कृष्ण औँसीको अवसरमा करिब २५ हजारले पितृतर्पण गरेका छन्।
धार्मिक एवं पवित्र त्रिशूली, सलाखु र फलाँखु खोलाको त्रिवेणीस्थल बेत्रावतीमा पौषे औँसीका दिन सोमबार दिवंगत पितृहरूको चीरशान्तिको कामना गर्दै ‘जौ’ को पिण्ड दिएर २५ हजारले श्राद्ध गरेका हुन्।
चार धाममध्ये नेपालमा रहेको मुख्य धाम उत्तरगया धाममा अघिल्लो वर्ष करिब १५ हजारले श्राद्ध गरेकोमा यसवर्ष करिब २५ हजारले पिण्ड तर्पण गरेको स्थानीय गणेश श्रेष्ठले बताए। 'हरेक वर्ष पिण्ड तर्पण गर्नका लागि उत्तरगयाधाममा हिन्दु र बौद्ध दुवै धर्मालम्वीहरु आउने गरेका छन्,' उनले भने।
हिन्दु धर्मालम्बीले बेत्रावती क्षेत्रलाई उत्तरगया भनेर पितृको नाममा श्राद्ध, दान, तर्पण गर्छन् भने बौद्ध धर्मालम्बीले मृत्यु भएका आफन्तका नाममा लामाहरुमार्फत मन्त्र पढ्ने र बत्ती बाल्ने गरेका छन्।
बेत्रावती उत्तरगया धाममा श्राद्ध गर्न हिन्दु र बौद्ध दुवै धर्मालम्वीहरुको सहभागिता रहने गरेको छ।
पुसको चिसोमा समेत तीर्थालुहरुले उत्तरगयामा रहेको त्रिशूली नदीमा स्नान गरी पिण्डदान गरेका हुन्। उत्तरगयास्थित त्रिवेणीमा पौष कृष्ण आमावस्या तथा गया औँसीको अवसरमा पितृको नाममा पिण्डदान गरिनुका साथै हरेक वर्ष हजारौँले स्नान गर्ने गरेको उत्तरगया क्षेत्र विकास समितिले जनाएको छ।
पौषे औंसीको अवसरमा मुलुकका विभिन्न स्थलबाट श्रद्धालुहरु दिवंगत पितृको नाममा पिण्ड तर्पण गर्न उत्तरगया आउने गरेका छन्। उत्तरगया पुगेर आफूले लगातार २६ वर्ष श्राद्ध गरेको नुवाकोट खडकभञ्झाङका कृष्णबहादुर ठकुरीले बताए।
यहाँ पिण्ड तर्पण गर्नाले दिवंगत व्यक्तिको आत्माले मोक्ष पाउने जनविश्वास रहेको पण्डित, पुजारी र श्रद्धालुहरुले बताएका छन्।
हिन्दु धर्मालम्बीहरुको पुराण अनुसार कालकूट विष पिई त्यसको राप शान्त पार्न भौंतारिएर हिडेका महादेवले त्रिशूल प्रहार गर्दा उत्पन्न भएको त्रिशूली नदी र महादेवले नै बेतको लौरी खोप्दा उत्पत्ति भएको बेत्रगंगास्थित फलाँखु खोलाको संगमस्थल समेत भएकोले पवित्र भूमिको रूपमा उत्तरगया परिचित छ।
त्रिशूली, सलाँखु र फलाँखुको त्रिवेणीमा पर्ने उत्तरगया क्षेत्र नुवाकोटको गेर्खु, फिकुरी, मेदाङ भञ्याङ, देवीघाट, र रसुवाको मैलुङसम्म फैलिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।