काठमाडौं– शनिबार बिहान दुई युवक आफुहरुलाई अपहरण गरी १४ लाख १५ हजार लुटिएको भन्दै उजुरी लिएर महानगरीय प्रहरी वृत्त जनसेवामा पुगे । शुक्रबार दिउसो करिब ३ बजे सुन्धाराबाट आफुहरुलाई अपहरणमा परेको उनीहरुको उजुरी थियो ।
पेस्तोल र सञ्चार सेट बोकेका व्यक्ति सेतो नम्बरको बा २ ब ९७ नम्बरको मोटरसाइकलमा आई अपहरण गरेर स्वयम्भुमा लिएर गई बन्धक बनाएको स्याङजा कालिगण्डकी गाउँपालिकाका २२ वर्षिय बसन्त भट्टराई र पर्वत पैयु घर भएका २१ वर्षिय कृष्ण काफ्लेको उजुरी थिष्यो । । आफुहरु प्रहरी भएको भन्दै अपहरण गरेको र कसैलाई जानकारी गराएमा मार्ने धम्की दिएको भन्दै उजुरी गर्न पुगेका थिए ।
उजुरी सुन्दा शंका गर्ने ठाउँ थिएन । जनसेवा वृत्तका डिएसपी मोहन थापाले गम्भीरताका साथ घटनाको अनुसन्धान अघि बढाए । अपहरणकारी भनिएका व्यक्तिहरुको हुलिया प्रहरीले हुलिया लियो । सञ्चार सेट र सेतो नम्बरको नम्बरप्लेट भएको व्यक्तिले अपहरण गरेको भनिएकाले कोही प्रहरी नै संलग्न हुनसक्ने कोणबाट समेत अनुसन्धान अघि बढ्यो ।
पीडितहरु अपरणमा परेको भनिएको सुन्धारास्थित घटनास्थलबाट अनुसन्धान सुरु भयो । त्यहाँ रहेका सिसिटिभी फुटेज प्रहरीले हेर्न थाल्यो । त्यही क्रममा उनीहरुले पहिला भनिएको कुरा बाँझिन थालिसकेको थियो । त्यसपछि प्रहरीले उनीहरुलाई बन्धक बनाएको भनिएको ठाउँ देखाउन आग्रह ग¥यो । तर, उनीहरुले त्यो ठाउँ पनि देखाउन सकेनन् । त्यसपछि प्रहरीको अनुसन्धानले अर्काे मोड लियो ।


उजुरीकर्ताहरु नै हिरासतमा
लुटिएको भनिएको ठाउँमा सिसिटिभी फुटेजमा केही नदेखिएको र बन्धक बनाएको ठाउँ समेत नखुलेपछि प्रहरीले उजुरीकर्ताहरु भट्टराई र काफ्लेमाथि नै अनुसन्धान अघि बढायो । अनुसन्धानको क्रममा घटना बनावटी भएको खुल्यो । ‘हुन्डीबाट आएको १४ लाख ५० हजार रुपैयाँ पचाउनक लागि उनीहरुले यस्तो नाटक गरेका रहेछन्,’ जनसेवा वृत्तका डिएसपी थापाले नेपाललाइभसँग भने,‘लुटेको भनेर नाटक गरी त्यो पैसा बाढेर खान लागेका अनुसन्धानमा खुल्यो ।’ भट्टराई र काफ्ले दुवै जना हुन्डीका एजेन्ट हुन् । दुबईबाट गोपी भुषालले उक्त रकम एक व्यक्तिलाई दिन भनेर पठाएका थिए । उनीहरुले सम्बन्धित व्यक्तिको खातामा पैसा जम्मा गर्न जादा लुटिएको भनेर नाटक गरी आफुहरुले नै बाढेर लिन खोजेका थिए ।
४४ लाख गुम्यो
हुन्डीका एजेन्ट भएको अनुसन्धानमा खुलेपछि प्रहरीले भट्टराई र काफ्लेमाथि नै अनुसन्धान अघि बढायो । अनुसन्धानको क्रममा उनीहरुबाट हुन्डी कारोबारको थप ४४ लाख ५० हजार रुपैयाँ बरामद गरेको छ । लुटिएको भनिएको १४ लाख ५० हजार र थप ३० लाखरुपैयाँ टोखास्थित विजय चौलागाईको डेराबाट बरामद भएको थापाले बताए । प्रहरीले उनीहरुमाथि थप कारबाही गर्न राजश्व अनुसन्धान विभागमा पठाएको छ । विभागले काठमाडौं जिल्ला अदालतबाट थुनामा राख्ने म्याद लिएर उनीहरुमाथि कारबाही अघि बढाएको छ ।
हुन्डी कारोबारीहरुलाई प्रहरी भन्दै लुटिने घटना विगतमा पनि भएका छन् । तिनै घटना सुनेका उनीहरुले त्यस्तै घटना बनाएर पैसा लुकाउन खोजेका थिए । तर, उनीरुको नाटक धेरै समय टिकेन । उनीहरु आफैं हुन्डी कारोबारको अनुसन्धानका लागि प्रहरी हिरासतमा पुगेका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।