काठमाडौं– शनिबार बेलुका करिब साढे १० बजे यूए पार्क कोरिडोरमा दुर्घटना भयो । बटुवालाई ठक्कर दिएर कार भागेको थियो ।
सेटमा दुर्घटनाको खबर पाएलगत्तै महानगरीय प्रहरी प्रभाग पुल्चोकका प्रहरी निरीक्षक गोविन्द पन्थी मातहतका प्रहरीलाई एरिया सिल गर्न आदेश दिदै घटनास्थलतर्फ हानिए । गम्भीर घाइते भएका व्यक्तिलाई उपचारका लागि अस्पताल पु¥याई आसपासका चोकहरुमा चेकजाँच सुरु गरे । ठक्कर दिएर भागेको कार फेला पार्न प्रहरीले चेकजाँचमा कडाई गरेको थियो । तर, प्रत्यक्षदर्शी नभएकाले ठक्कर दिने गाडि फेला परेन । ठक्कर दिने गाडिको नम्बर मात्र होइन रंग बारे पनि प्रहरीलाई केही जानकारी थिएन । घाइतेको अवस्था गम्भीर थियो ।
प्रहरी टोली घटनास्थलमै थियो । दुई जना युवकहरु सडकमा खाल्डो भएकाले दुर्घटना भएको भन्दै प्रहरीसँग झगडा गर्न थाले । मदिराले मात्तिएका ती युवक प्रहरीलाई गाली गर्दे घटनास्थलको भिडियो खिच्दै थिए ।
प्रहरीसँग झगडा गर्न थालेपछि इन्सपेक्टर पन्थीले उनीहरुसँग कुरा गर्न थाले । सोधपुछ गर्दा उनीहरुले आफुहरु झम्सिखेलबाट हिड्दै मिनभवन जान लागेको बताए । प्रहरीले खानतालासी लियो । दुईमध्ये एकको खल्तीमा गाडिको साँचो भेटियो । गाडि कहाँ छ भनेर सोध्दा उनीहरुले सिंहदरबारभित्र उर्जा मन्त्रालयमा रहेको बताए ।
इन्सपेक्टर पन्थीलाई शंका लाग्यो, उनीहरुलाई भ्यानमा हाले । सर्च एण्ड सिल गरिएका क्षेत्रमा खटिए । ठक्कर दिएर भागेको गाडि कतै लुकाएर राखेको आशंकामा नजिकैको एरियामा सर्च गर्न थाले । त्यही क्रममा ज्वागलको सडकमा बा ४ च ६६३२ नम्बरको गाडि फेला प¥यो । गाडिको अगाडिको बोनट निस्किएको थियो ।
युवकसँग बरामद चाबीले गाडि खुल्यो । उनीहरुसँग गाडिबारे सोधपुछ गर्दा सुरुमा आफुहरुलाई थाहा नभएको बताए । पछि उक्त गाडि आफुहरुको भएको बताए, तर आफुहरुले ठक्कर नदिएको ढिपी गरे । ‘थप अनुसन्धान गर्नै जाँदा उनीहरुले आफुहरुले नै ठक्कर दिएको स्वीकारे,’ इन्सपेक्टर पन्थी भन्छन्,‘दुर्घटनापछि गल्लीभित्र गाडि लुकाएर उनीहरु घटनास्थल पुगेका रहेछन् ।’ प्रहरीका अनुसार अनिसराज भण्डारी र आवास पोखरेलले दुर्घटनापछि घाइतेलाई सडकबाट १० मिटर पर घिसारेर लुकाई भागेका थिए । गाडि भण्डारीले चलाएका थिए । पोखरेलले पनि घटना लुकाउन खोजेकाले उनलाई पक्राउ गरेको छ । गम्भीर घाइते भएका जावेद खानको ट्राम सेन्टरमा उपचार भइरहेको छ ।
कुनै पनि अपराधमा संलग्न व्यक्तिहरु आफुले गरेको अपराधको घटनास्थलमा पटक पटक जान चाहन्छन् । शनिबार रातीको उक्त दुर्घटनामा पनि दुई युवक कार लुकाएर अवस्था बुझन् घटनास्थल पुगेका थिए । अपराध अनुसन्धानमा अनुभवी इन्सपेक्टर पन्थीले त्यही कुरा पत्ता लगाइ नियन्त्रणमा लिएर सोधपुछ गर्दा उनीहरु फन्दामा परेका हुन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।