जनकपुर– जनकपुरधाम उपमहानगरपालिकाकी उपप्रमुख रिता कुमारी मिश्रले आफूलाई बेवास्ता गरिएको भन्दै विभिन्न उपसमितिको संयोजकको जिम्मेवारी मुक्त गर्न मेयर लालकिशोर साहसँग माग गरेकी छन्।
उपमेयर मिश्रले शुक्रबार लिखित रुपमा एक्सन कमिटी, लामखुट्टे नियन्त्रण कमिटी र रंग पेन्ट वितरणसहितको कमिटीले आफूलाई बेवास्ता गर्दै काम आइरहेको कारण आफूलाई सो उपसमितिहरुको संयोजक पदमा नरहने भन्दै पदभुक्त गर्न जानकारीसहितको लिखित रुपमै निवेदन दर्ता गराएकी छन्।
जनकपुर सहरको सडक विस्तारका क्रममा घरहरू भत्काउन तथा तोडफोड गर्न एक्सन कमिटी, उपमहानगरपालिकालाई लामखुट्टे मुक्त गर्न लामखुट्टे नियन्त्रण र नगरभित्रका सबै घर तथा पसल एउटै रंग केसरिया रंगबाट पेन्ट गर्नका लागि वितरण गरिएको पेन्टका लागि बनाइएको रंगपेन्ट वितरण कमिटीको संयोजक उपमेयर मिश्रलाई बनाइएको थियो।
तर, उपमेयर मिश्रले सडक विस्तारका लागि हालसम्म भत्काइएको सार्वजनिक तथा निजी घर पर्खाल बारे कुनै जानकारी गराइएको छैन। उनले सञ्चारकर्मीसँग कुरा गर्दै भनिन्, 'कमिटीको संयोजक आफू भएपनि कुन मापदण्ड र कतिको संख्या तथा क्षेत्रमा तोडफोड गरिएको कुनै जानकारी गराइएको छैन, कमिटी सदस्यहरुले मनपर्दी रुपमा विशेष व्यक्तिको इसारामा तोडफोड गरेको हो।'
साथै उनले आफूलाई जानकारी नै नगराएर तोडफोड गरिँदा भोलिका दिन अदालतमा मुद्दा नै कसैले हाल्यो भने आफैं फस्ने भन्दै यस्तो अवस्थामा पदमा बसिरहन जरुरी नभएको बताइन्।
'सहरमा लामखुट्टे नियन्त्रणका लागि अहिले मोबिल छर्किने काम भइरहेको छ। तर, त्यसमा पनि आफूलाई कुनै जानकारी नै गराइएको छैन,' उनले भनिन्।
उपमहानगरपालिकाका प्रमुख लाल किशोर साह, प्रमुख प्रशासकीय अधिकृत सीता परियार र कमिटीमा रहेका वडाध्यक्षहरूको सिफारिसमा ती सबै काम भइरहेको उपप्रमुखको आरोप छ।
मेयर साह र उपमेयर मिश्र दुवै एकै पार्टी राजपा नेपालबाट चुनाव जितेका हुन्। राजपा नेपालको कार्यपालिकामा बहुमत भएपनि आपसी मनमुटावले समस्या झेल्दै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।