भक्तपुर- प्रधानमन्त्री केपी शर्मा ओलीले राजतन्त्र फेरि चाहियो भन्नेहरुलाई ‘मूर्ख’को संज्ञा दिएका छन्।
प्रधानमन्त्री ओलीले कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीप्रति संकेत गर्दै २ सय ४० वर्ष शासन गरेर मुलुकलाई अन्धकारको युगमा धकेल्ने, गरिब बनाउने राजतन्त्र फेरि चाहियो भनेर केहीले मुर्खतापूर्ण अभिव्यक्ति दिइरहेको बताए। देश र जनतालाई माया गरेर इमान्दारीसाथ राष्ट्र निर्माणको अभियानमा सहभागी हुन पनि उनले सबैलाई आह्वान गरे।
शुक्रबार भक्तपुरमा ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ को शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले देशलाई प्रतिगमनतर्फ लैजाने चेष्टा नगर्न पनि सम्बन्धित पक्षलाई सचेत गराए। नेत्रविक्रम चन्द नेतृत्वको नेकपालाई तथाकथित क्रान्तिको नाममा हिंसा भड्काउने प्रयास नगर्न पनि उनको चेतावनी थियो।
सरकार शान्ति, सुरक्षा, सुशासन र विकासको काममा लागिपरेको प्रधानमन्त्रीले दाबी गरे।
प्रधानमन्त्री ओलीले बेरोजगारी समस्या समाधानको बाटोमा सरकार लागिपरेको भन्दै ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ बेरोजगारी समस्या समाधानका लागि नै सुरुवात गरिएको स्पष्ट पारे। ४० लाख युवाहरु वैदेशिक रोजगारमा रहेकाले उनीहरुलाई देशभित्रै रोजगारीको अवसर सिर्जना गर्न सरकार प्रतिबद्ध रहेको उनले दोहोर्याए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।