फाइल तस्बिर।
काठमाडौं- संसदीय समितिको बैठकमा अनुपस्थित भएपछि प्रतिनिधिसभाका सांसदहरुले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितको चर्को आलोचना गरेका छन्।
स्थानीय तहको कर्मचारी भर्नाका लागि लोक सेवा आयोगले खुलाएको विज्ञापन सम्बन्धमा छलफल गर्न शुक्रबार बोलाइएको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा अनुपस्थित भएपछि सांसदहरुले मन्त्री पण्डितको चर्को आलोचना गरेका हुन्।
बैठकमा बोल्दै प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता एवम् सांसद दिलेन्द्रप्रसाद बडुले स्थानीय तहमा कर्मचारी नियुक्ति गर्ने विषयमा पनि मन्त्री पण्डित जिम्मेवार नभएको उल्लेख गर्दै आपत्ति जनाए। उनले संविधानविपरीत खुलाइएको सो विज्ञापन फिर्ता लिनुपर्नेमा त्यसको बचाउ गर्दै मन्त्री पण्डितले सार्वजनिक अभिव्यक्ति दिने गरेकोमा पनि आक्रोश व्यक्त गरे।
सांसद बडुले संविधानविपरीत आएको सो विज्ञापन तत्काल खारेज गर्न पनि सरकारलाई पुनः दबाब दिए। उनले स्थानीय तहमा तत्कालका लागि अस्थायी वा करारमा कर्मचारी नियुक्त गर्ने व्यवस्था गर्न पनि सरकारसँग आग्रह गरे।
यता, सत्तारुढ नेकपाका सांसद जनार्दन शर्माले पनि संविधानमाथि प्रहार हुने गरी खुलाइएको सो विज्ञापन तत्काल खारेज गर्न सरकारसँग माग गरे। पूर्व गृहमन्त्रीसमेत रहेका शर्माले संविधानमाथि प्रहार हुने कुनै पनि गतिविधिले मुलुक संकटमा फस्ने भन्दै त्यस्ता गतिविधि रोक्नका लागि सरकारलाई निर्देशन दिन पनि समितिकी सभापति शशी श्रेष्ठको ध्यानाकर्षण गराए।
त्यसैगरी, राष्ट्रिय जनता पार्टी, नेपालका अध्यक्ष मण्डलका सदस्य एवम् सांसद राजेन्द्र महतोले पनि संविधान, संघीयता र जनताको अधिकारविरुद्ध हुने गरी खुलाइएको सो विज्ञापन तत्काल खारेज गर्न लोकसेवा आयोगलाई निर्देशन दिन पनि समितिकी सभापति श्रेष्ठसँग माग गरे। उनले सरकारले संविधानविपरीतका गतिविधि गरिरहेको आरोप पनि लगाए।
बैठकमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले भने स्थानीय तहको मागअनुसार नै लोक सेवा आयोगमार्फत स्थानीय तहको कर्मचारीका लागि पनि विज्ञापन खुलाइएको स्पष्टीकरण दिए। उनले ६८ हजार ९ सय ८ जना दरबन्दी रहेको स्थानीय तहमा ५० प्रतिशतभन्दा बढी कर्मचारी अभाव भएकाले पनि सरकारले त्यसको व्यवस्था गर्न सो विज्ञापन खुलाउन बाध्य हुनु परेको तर्क गरे।
सरकारले लोक सेवा आयोगमार्फत स्थानीय तथा प्रदेश तहको पनि कर्मचारी पदपूर्तिका लागि ९ हजार भन्दा बढीको विज्ञापन खुलाएपछि त्यो संविधानको मर्मविपरीत हुने गरी आएको भन्दै सर्वत्र आलोचना भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।