रत्ननगर (चितवन)- चितवन राष्ट्रिय निकुञ्जको कछुवानी पोस्ट नजिकै दलदलमा फसेर आज एउटा गैँडा मरेको छ।
दलदलमा फसेर अड्किएको अर्धवयस्क पोथी गैँडा आज बिहान मरेको अवस्थामा फेला परेको निकुञ्जका सहायक संरक्षण अधिकृत अभिनय पाठकले जानकारी दिए।
शनिबार दलदलमा फसेको भेटिएपछि गैँडालाई हात्तीको सहायतामा निकालिएको थियो। दलदलमा अड्किएर शिथिल भइसकेका कारण गैँडालाई जोगाउन नसकिएको पाठकले बताए।
साउन अन्तिम साता आएको बाढी पसेर दलदल बनेको स्थानमा गैँडा फसेको निकुञ्जले जनाएको छ। साउन २४ गते पनि चितवन राष्ट्रिय निकुञ्जको पूर्वी सेक्टरअन्तर्गत इचर्नी पोस्ट नजिकै दुई वटा भाले गैँडा जुध्दा लडेर एउटा गैँडा मरेको थियो।
गएको आर्थिक वर्षमा विभिन्न कारणले २५ वटा गैँडा मरेको चितवन निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालले जानकारी दिए।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।