काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले बजेटलाई कागजको घोडाको संज्ञा दिएका छन्।
प्रतिनिधिसभाको बिहिबारको बैठकमा आगामी आर्थिक वर्ष २०७६/७७ को बजेटमाथिको छलफलमा सहभागी हुँदै उनले बजेट कागजको घाडाजस्तै भएको टिप्पणी गरेका हुन्। पूँजीगत खर्च र विकास खर्चभन्दा चालु खर्च बढी भएको ऋणात्मक बजेटले मुलुकको सम्मृद्धि हासिल गर्न नसक्ने दाबी उनले गरे।
'कागजको घोडा जस्तैबजेट। न यसले घाँस र दाना खाला, न यसले सवारी बोक्न सक्ला? ऋणात्मक खालको बजेट जो पूँजीगत खर्च गर्ने सकेको छैन। पूँजीगत खर्च गरेर शान्ति र सम्मृद्धि ल्याउनुपर्यो नि! पूँजीगत खर्च गर्न नसक्ने, विकास खर्च गर्न नसक्ने,' उनले भने, 'बजेट वृद्धि हुने, विकासमा वृद्धि नहुने, चालु खर्चमा वृद्धि हुने, चालु खर्च नपुग हुने, विकास खर्च गर्नै नसक्ने। त्यसैले यो कागजको घोडा भयो। कागजको घोडा दौडाएर कहीँ पनि पुग्दैन।'
'पोहोरसाल कागजको घोडा अलि सानो थियो। यसपाली कागजको घोडा अलि ठुलो भएछ। अझै ठुलो बनाईदिएको भएपनि हुन्थ्यो। ठूलो बनाएको भए सायद पानी जहाज आउँथ्यो होला। रेल आउथ्यो होला। जनतालाई पानी जहाज र रेल चढ्ने इच्छा छ। देशभित्रै पानीजहाज चढ्ने इच्छा छ। त्यो इच्छा पुरा गर्थ्यो होला तर यो कागजको घोडाले त्यो इच्छा पुरा गर्ने भएन। त्यसो भएर दुख लाग्या छ।'
संविधानले संघीय लोकतान्त्रिक गणतन्त्रलाई आत्मसात गरेपनि बजेटले संघीयताको आधारशिलालाई नमानेको टिप्पणी उनले गरे।
उनले समाजवाद हुदै साम्यवाद उन्मुख हुने बताउने सरकारको बजेट समाजवाद हुदै पूँजीवाद उन्मुख भएको दाबी गरेका थिए।
वृद्ध भत्ताका लागि ७० वर्षबाट ६५ वर्षमा कायम गर्ने निर्णय पूर्ववर्ती सरकारले गरेको भन्दै सोही मापदण्ड लागु गर्न आग्रह गरेका उनले पुर्ववर्ती सरकारले स्पाईनल कर्ड इन्जुरी, मटु, र्मिगौला, क्यान्सर रोगका विरामीलाई र्निवाह भत्ताका लागि प्रतिमहिना ५ हजार दिने कार्यक्रमलाई बजेटमा समावेश गर्न माग गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।