काठमाडौं- राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले विनाशकारी भूकम्पले क्षति पुगेका पुरातात्विक महत्वका सम्पदा पुनर्निर्माणलाई तीव्रता दिन सरोकारवाला निकायलाई निर्देशन दिएको छ।
सम्पदाहरुको पुनर्निर्माण सम्बन्धी हालसम्म भएका कार्यहरुको प्रगति सम्बन्धमा ललितपुरको पाटन दरबार स्क्वायरमा शुक्रबार बसेको सरोकारवाला निकायका प्रतिनिधिहरुको बैठकमा प्राधिकरणले यस्तो निर्देशन दिएको हो।
बैठकको नेतृत्व गरेका प्राधिकरणका सहसचिव प्रकाश थापाले पुरातात्विक महत्वका सम्पदा पुनर्निर्माणका क्रममा आइपर्ने समस्यालाई तत्काल समाधान गर्न प्राधिकरण तयार रहेको बताए। जस्तोसुकै समस्या भए पनि सबै निकायसँग समन्वय गरेर समाधानको उपाय खोजिने उनको भनाइ छ। 'तर कुनै पनि बहानामा सम्पदा पुनर्निर्माणको काममा ढिलाइ नहोस्,' उनले भने।
बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालय अन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाइका प्रमुख डण्डुराज घिमिरे, पुरातत्व विभागका सम्पत घिमिरे, गुठी संस्थान केन्द्रीय कार्यालयका सालिकराम सुवेदी, पशुपति क्षेत्र विकास कोषका सुवास सापकोटा, काठमाडौं उपत्यका संरक्षण कोषका रोहित रञ्जितकार, ललितपुर महानगरपालिकाकी हिराशोभा शाक्य लगायत विभिन्न निकायका प्रतिनिधिहरुको उपस्थिति थियो।
बैठकमा प्रतिनिधिहरुले सम्पदा पुनर्निर्माणका क्रममा कतिपय स्थानमा काठको अभाव भएको, कालिगढको समस्या र केही नीतिगत अफ्ठेरा रहेको भन्दै सहजीकरण गरिदिन प्राधिकरण, पर्यटन मन्त्रालय अन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाइ र पुरातत्व विभागको ध्यानाकर्षण गराएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।