कुनै समय अफगानिस्तान काइदा-कानुनको नाममा निकै उकुसमुकुसमा थियो । कट्टरपन्थी तालिबानहरुको हैकमका कारण त्यहाँको समाजलाई रहनसहन र हिँडडुलमा मनले चाहेको गर्न छुट थिएन।
पछिल्लो समय भने अफगानी नयाँ पुस्ताले त्यो नियन्त्रणको घेरा तोडिसकेको छ । बाहिरबाट आएका मान्छे र विदेशी टेलिभिजन च्यानलको प्रभावले अफगानीहरुको जीवनशैली धेरै बदलिएको छ । खासगरी राजधानी काबुल लगायतका सहरमा यसलाई महसुस गर्न सकिन्छ।
नयाँ पिँढीको झुकाव फेसनतिर बढ्दो क्रममा देखिन्छ । फेशनेवल पहिरन र सुन्दर देखिने उनीहरुको चाह बढेको छ । कतिसम्म भने, अफगानिस्तानको परम्परागत लुगामा पनि पश्चिमा शैली देखिन थालेको छ ।
काबुलको फेसन
फेसनको लहरले सहरिया युवायुवतीलाई बढ्ता छोपेको छ । परम्परागत भेषभूषामा रहँदै आएका सैयद दाउदले एकदिन जोखिम उठाए, उनी अनुहारमा निखार ल्यान र कपाल चिरिच्याट्ट पार्न सैलुन गए । सैयद हरेक महिना एक पटक बामियानबाट राजधानी काबुल पुग्छन्।
उनी सैलुन जान्छन् । फेसनको मखमली स्वरुपले उनको जिन्दगीमा प्रेम नै ल्यायो । उनी अहिले विवाहित छन् । सैयद भन्छन् 'फेसनको मेरो सौखले बिहेको लागि राम्रो केटी खोज्न धेरै सहयोग गर्यो । मैले राम्री दुलही भित्र्याएँ।'
युवतीसँग मित्रताबाट सुरु भएको सैयदको सम्बन्ध विस्तारै प्रेममा बदलिएको थियो।
काबुलमा रहेका धेरैजसो हेयर ड्रेसरले विभिन्न देशमा तालिम लिएर आएका छन् । उनीहरुका ग्राहक फिल्म र खेल क्षेत्रका व्यक्तिका साथै विदेशी कूटनीतिज्ञहरुसम्म छन् ।
ब्राड पिटको जस्तो कपाल
मुस्तफा मोहम्मदी पछिल्लो ६ वर्षदेखि हेयर ड्रेसिङ पेशामा छन् । उनले दुई वर्ष इरानमा तालिम लिएर काबुलमा सैलुन खोलेका हुन् ।
मुस्तफाका अनुसार पछिल्ला वर्षहरुमा थरीथरीका हेयर स्टाइल बनाउन अफगान युवाहरुको रुचि अप्रत्यासित रुपमा बढेको छ । धेरैजसो ग्राहकले पश्चिमा लुक्स चाहने उनको अनुभव छ।
उनी भन्छन् 'कहिलेकाहीँ युवकहरु फोटो लिएर आउँछन् र हामीलाई यस्तो हेयर स्टाइल चाहियो भन्छन् । जस्तो कि फिल्म स्टार ब्राड पिटको हेयर स्टाइल । उनीहरुलाई त्यो हेयर स्टाइल आफूलाई सुहाउँछ कि सुहाउँदैन भन्ने पनि मतलब हुन्न । म उनीहरुलाई उचित सल्लाह दिन्छु । उनीहरु माने त ठीकै हो, मानेनन् भने उनीहरुले भने अनुसार गरिदिन्छु।'
युवतीहरु पनि कम छैनन्
मुस्तफाका अनुसार, उनका ग्राहकमा युवतीहरु पनि छन् । खासगरी छोटा कपाल रुचाउने युवतीहरु उनको सैलुनमा आउँछन्।
काबुलका कपडा पसलहरुमा पनि पछिल्लो समय परिवर्तनको चमक देख्न सकिन्छ । अफगानी नौजवानहरु फेसनेवल हुँदै जाँदा पसलेहरुले आफ्ना ग्राहकको लागि इरानी, टर्किस, अरबी, भारतीय र पाकिस्तानी पहिरनहरु राख्न थालेका छन्।
फेसनप्रति झुकावको कुरा गर्दा अफगानिस्तानको नेसनल टिमकी क्याप्टेन सादिया बोरौमन्दलाई नै हेरौं । नयाँ पुस्ताकी उनको फेसन र मेकअपबारे रुचि नै फरक छ।
उनले पाखुरामा ट्याटु खोपेकी छिन्, जसमा लेखिएको छ- 'असम्भव केही पनि छैन ।' उनी २०१६ को ब्राजिल ओलम्पिकमा भाग लिएकी अफगानिस्तानकी पहिलफ युवती हुन्।
सादिया भन्छिन्, आफ्नो स्वतन्त्रता हासिल गर्न उनले कैयौं रुढिवादी विचारसँग लड्नुपर्यो।
सरकारी बन्देज छैन
सादिया हरेक दिन कपडा लगाउने बेलामा आफ्नो दर्जनौं पहिरनमध्ये विशेष छान्छिन् ।
उनी भन्छिन्- 'म राम्रो लुगा लगाउन र राम्री देखिन चाहन्छु । पहिलो नजरमै कुनै व्यक्तिको पहिचान झल्किन्छ भन्ने कुरामा म विश्वास राख्छु।'
फेसन र पहिरनको मामिलामा अफगानी युवकभन्दा युवतीले बढी समस्या खेप्नुपर्छ । यद्यपि अफगानिस्तानमा फेसन र पहिरनबारे सरकारबाट कुनै रोकटोक छैन । तर, परम्पराहरुले अझै पनि यो देशलाई जकड्याइरहेको छ।
बिबिसीबाट
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।