काठमाडौं- निजी घर निर्माणका लागि दोस्रो किस्ता लिने भूकम्पपीडित लाभग्राहीहरुको संख्या एक लाख नाघेको छ।
मंसिर २७ बेलुकासम्मको तथ्यांकअनुसार १ लाख ४ सय ८३ लाभग्राहीले आफ्नो घर पुनर्निर्माण सुरु गरी दोस्रो किस्ता लिएका छन्।
पहिलो किस्ता लिने लाभग्राहीको संख्या ठूलो भए पनि सोही अनुपातमा पुनर्निर्माण सुरु गरी दोस्रो किस्ता लिने लाभग्राहीको संख्या बढ्न नसकिरहेका बेला यो तथ्यांक आएको हो। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पहिलो किस्ता लिएका लाभग्राहीलाई दोस्रो किस्ता लिएर घर पुनर्निर्माण सुरु गर्न विभिन्न माध्यममार्फत प्रेरित गर्दै आएको छ।
‘प्राधिकरणले गत साउनमा अनुदान लिने समयसीमा निर्धारण गरेका कारण पनि निजी आवास निर्माण बढेको हो। यो तथ्यांकले दसैं, तिहार लगायतका चाडपर्व र कृषि उत्पादन भित्र्याउने चटारो सकिएलगत्तै घर पुनर्निर्माणले गति लिन थालेको देखाएको छ,’ प्राधिकरणका प्रवक्ता यमलाल भुसालले भने।
प्राधिकरणले गत वर्ष पुससम्म पहिलो किस्ता लिइसकेका लाभग्राहीलाई ०७४ पुस मसान्तभित्र दोस्रो किस्ता र आगामी ०७५ जेठभित्र तेस्रो किस्ता लिन अनुरोध गरेको छ। त्यस्तै, ०७४ कात्तिकभित्र पहिलो किस्ता लिएका लाभग्राहीले ०७४ चैत्रभित्र दोस्रो किस्ता र ०७५ असार मसान्तभित्र तेस्रो किस्ता लिइसक्नुपर्नेछ।
डिपीसी तहसम्मको पुनर्निर्माण सम्पन्न भएपछि लाभग्राहीले प्राविधिकबाट जाँच गराई दोस्रो किस्ता लिन पाउँछन्। त्यस्तै, दोस्रो किस्ता लिएर छानो छाउने पट्टिनिर्माण गरेपछि लाभग्राहीले तेस्रो किस्ताका लागि आवेदन दिन सक्छन्।
दोस्रो किस्ता लिने लाभग्राहीको संख्या एक लाख नाघे पनि दोस्रो किस्ताका लागि प्रमाणीकरण गरिएका लाभग्राहीको संख्या भने थप २४ हजार ३ सय ७ छ। त्यस्तै, तेस्रो किस्ताका लागि प्रमाणीकरण गरिएका लाभग्राहीको संख्या ३३ हजार ४ सय २५ पुगेको छ।
अहिलेसम्म ६ लाख ५१ हजार ७ सय ९२ लाभग्राहीले पहिलो किस्ता लिएका छन्।
निर्माण सम्पन्न भएका र निर्माणाधीन निजी घरहरुको संख्या पनि सन्तोषजनक गतिमा अघि बढेको प्राधिकरणले जनाएको छ। हाल निर्माणाधीन घरको संख्या १ लाख ७४ हजार ६ सय २२ पुगेको छ । त्यस्तै, ७३ हजार ६ सय ५५ घर पुनर्निर्माण भइसकेका छन्।
निर्माण सम्पन्न र निर्माणधीन घरको कुल संख्या २ लाख ४८ हजार २ सय ७७ हुन आउँछ। यो पहिलो किस्ता लिएका कुल लाभग्राहीको ३८ प्रतिशत हो।
हालसम्म कुल भूकम्पपीडित लाभग्राहीको संख्या ७ लाख ६७ हजार ७ सय ५ रहेको छ भने तीमध्ये ६ लाख ५९ हजार ५ सय ६ जनासँग अनुदान सम्झौता भइसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।