काठमाडौँ - नेकपा माओवादी केन्द्रका नेता दीनानाथ शर्माले नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच चाँडो एकता प्रक्रिया शुरु हुने बताएका छन्।
दुवै पार्टीका नेतालाई सम्मानजनक व्यवस्थापन हुनेगरी अहिले एकताको गृहकार्य भइरहेको उनले बताए।
नेता शर्माले पार्टी एकता र सरकार निर्माण प्रक्रिया सँगसँगै अगाडि बढ्ने बताउँदै भने, “पार्टी एकताका लागि काम भइरहेको छ, अहिले साझा विधान ल्याउनका लागि कार्य चलिरहेकाले एकताका लागि ठूलो दबाब छ, हामी विचलित हुँदैनौँ।”
निर्वाचनमा जनताले वाम गठबन्धनलाई बहुमत दिएर मुलुकलाई स्थिरतातर्फ लैजान चाहेकाले अब सरकार र प्रतिपक्षी दल मिलेर देशलाई समृद्धि बनाउनका लागि काम गर्नुपर्नेमा पनि उनले बताए।
खानेपानी तथा सरसफाइमन्त्री एवं नेपाली काँग्रेसका केन्द्रीय सदस्य महेन्द्र यादवले काँग्रेसले अब प्रतिपक्षमा बसेर जनताको सेवा गर्ने जनादेशलाई कार्यान्वयन गर्ने बताउँदै बाहिर चर्चा भएजस्तो कुनै विवाद र मतभेद पार्टीभित्र नरहेको स्पष्ट बताए।
पार्टी सभापति शेरबहादुर देउवाको विकल्प नरहेको पनि उनले बताए।
संघीय समाजवादी फोरम नेपालका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले वाम गठबन्धनले लिने नीतिका आधारमा आफ्नो दलले सहयोग गर्ने वा नगर्ने निर्णय लिइने बताउँदै संविधान संशोधनमा सकारात्मक भए आफ्नो दलले अब बन्ने सरकारसँग सहकार्य गर्न सक्ने धारणा व्यक्त गरे।
प्रदेश नं २ मा आफ्नो पार्टी ठूलो दल भएकाले मुख्य मन्त्रीमा आफ्नो दलको दाबी रहने पनि बताए। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।