रसुवा– भूकम्पबाट विस्थापित भएकाहरुका लागि रसुवामा पुनस्र्थापनाको प्रक्रिया सुरु भएको छ। सरकारले जग्गा नभएकाहरुलाई जग्गा खरिदका लागि दुई लाख रुपैया अनुदान उपलब्ध गराएसँगै पुनर्स्थापना प्रक्रिया सुरु भएको हो।
भूकम्पका कारण सुख्खा पहिरो झर्नुका साथै जमिन चिरा परेर जोखिममा परेको बस्तीका परिवारको स्थान्तरणको लागि जग्गा खरिद प्रक्रिया अघि बढाइएको छ।
जिल्लाको साबिकको डाँडागाउँ ८ र ९ वडाका विस्थापित २४ परिवारलाई पहिलो चरण अन्तर्गत जग्गा खरिद गरी पुनर्बासको प्रक्रिया सुरु गरिएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका नापी प्रमुख कमल घिमिरेले बताए।
उनले भने, ‘जग्गा खरिदका लागि सरकारले उपलब्ध गराएको दुई लाख रुपैयाँ दिएपछि अपुग रकम विस्थापित आफैले संकलन गरेसँगै जग्गा खरिद गरिएको हो, यसले जिल्लामा विस्थापित भएकाहरुलाई जग्गा खरिद गरी पुनर्बासको बाटो खुलेको छ।’
पुनर्निर्माण प्राधिकरणको तथ्यांकमा जिल्लामा जोखिममा रहेका ३ सय ५२ विस्थापित परिवारमध्ये पहिलो चरणमा २४ परिवारलाई जग्गा खरिद गरी हस्तान्तरण गरिएको हो ।
नुवाकोटको किस्पाङ गाउँपालिका– ५ मा ४८ लाखको लागतमा ४ रोपनी १० आना जग्गा खरिद गरी उत्तरगया गाउँपालिका ३ डाँडागाउँका २४ विस्थापित परिवारलाई संयुक्त जग्गाधनी पुर्जा हस्तान्तरण गरिएको छ। २४ परिवारका लागि जग्गा खरिद गरिएकोमा २३ परिवारको संयुक्त र एउटाको लागि एकल पुर्जा निर्माण गरिएको छ। एउटा घरमा एक जना मात्र सदस्य रहेका कारण एकल पुर्जा निर्माण गरिएको बताइएको छ।
खरिद गरिएको जग्गा राष्ट्रिय पुननिर्माण प्राधिकरण जिल्ला समन्वय समितिको सचिवालयले बिहीबार सदरमुकाम धुन्चेमा एक कार्यक्रमको आयोजना गरी प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपाने मार्फत जग्गाधनी मैयाँ भट्टलाई चेक तथा विस्थापित वीरबहादुर तामाङलाई संयुक्त पुर्जा हस्तान्तरण गरिएको छ।
डाँडागाउँका भूकम्प प्रभावितले स्वेच्छिक रुपमा पुरानो गाउँ डाँडागाउँ नजिकै जग्गा खरिद गरेका हुन्।
जग्गा खरिद गरेका स्थानमा जीविकोपार्जनका लागि स्थान नभएकाले खेतीपाती गर्ने समयमा गाउँ फर्कन सहज हुने आशामा किस्पाङमा जग्गा खरिद गरेको डाँडागाउँका भूकम्पप्रभावित वीरबहादुर तामाङले बताए।
विस्थापितलाई जग्गा हस्तान्तरण गरिएसँगै अब ३ महिनाभित्रमा आवास निर्माण सुरु गर्नुपर्ने भएको छ । यसअघि अन्य व्यक्तिले पाएको अनुदान रकम जस्तै जग्गा खरिद गरेका विस्थापितहरुले पनि निजी आवास निर्माणका लागि ३ लाख रुपैयाँ पाउने भएका छन् ।
भूकम्पका कारण जिल्लाको पाँच वटा गाउँपालिकाका करिब १६ वटा बस्ती जोखिममा परेका छ। गाउँमा सुख्खा पहिरो जानुको साथै बस्ती वरिपरि जमिन चिरा परेपछि चार सयभन्दा बढी घरधुरी विस्थापित बन्न पुगेका थिए। गाउँ नै छाडेर हिँडेका भूकम्पप्रभावित निजी तथा सरकारी जग्गामा जस्ताको टहरा बनाएर बसिरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।