वृद्धभत्ताबारे बोल्ने हिम्मत मसँग छ

गगन थापा | २०७६ जेठ २१ मंगलबार | Tuesday, June 04, 2019 १७:१०:०० मा प्रकाशित

२०७५ साल जेठ ३ गते नेपाल कम्युनिष्ट पार्टी एमाले र माओवादीले आफ्नो मृत्युको घोषणा गर्दै नेपाल कम्युनिष्ट पार्टीको जन्म भएको घोषणा गर्यो। एकीकृत पार्टीको इतिहास जम्मा ३८३ दिनको मात्रै छ। यति छोटो इतिहासको आधारमा नेकपा के हो भनेर यसलाई चिन्न सकिन्न।

दस्तावेज पढेर चिनौँ दस्तावेज छैन। इच्छापत्र जस्तो घोषणापत्र पढेर वा बिग्रेको निबन्ध जस्तो नीति तथा कार्यक्रम पढेर चिन्ने कुरै भएन। नेकपा के हो भनेर चिन्दा यसको सरकारले बनाएको बजेट नै उपयुक्त आधार हो।

हुन पनि बजेट भनेको कुनैपनि अंकशास्त्र मात्र होइन। न त आम्दानी र खर्चको योजनाको टिपोट मात्रै हो। यो अर्थ राजनीतिक दस्तावेज हो। यो पढेर सरकार चलाउने पार्टीको विकासको दर्शन बुझ्न पाइन्छ।

नेकपाको नारा छ, संमृद्ध नेपाल सुखी नेपाली। संमृद्धिको परिभाषा के हो? के भयो भने नेपाली सुखी हुन्छ? यो बजेट पढेर बुझ्न सकिएन। विश्व राजनीतिमा उग्रराष्ट्रवादले ल्याएको नयाँ उथलपुथलसँगै अर्थ राजनीतिक चिन्तनमा समेत नयाँ धारहरु देखिएका छन्।

संयुक्त राज्य अमेरिका जस्तो देशमा प्रगतिशील पूँजीवाददेखि ग्रीन न्यू डिलसम्म र अन्य देशहरुमा आर्थिक बृद्धि कि समावेशी संमृद्धि, राज्य र बजारको सनातन भूमिका हो कि नयाँ सन्तुलन, तीव्र वृद्धि कि दिगो विकास, उद्यमशील पूँजीवाद कि बजार समाजवाद, कृषि उद्योग र सेवाको चरणबद्ध विकास कि विकासको अपेक्षाकै क्रम भंगताको प्रयत्न यत्रो बहस हुँदै गर्दा नेकपा कहाँनेर उभिन्छ बजेट पढेर थाहा पाउन सकिन्न।

देशैभित्र पनि आर्थिक सम्प्रभुता कायम राखेर पनि वैदेशिक सहायता र स्रोत परिचालन गर्न सकिन्छ वा भिखारीसँग छनौटको सुविधा हुँदैन, जे दिन्छ वा जे आउँछ मज्जाले पचाँउछ भनेर जाने हो? विकासको स्थान गाउँ हो कि शहर हो? विद्युत उत्पादन अनि वितरण हो कि आर्थिक वृद्धि र सामाजिक न्यायलाई सँगसँगै लिएर जाने हो? यत्रो बहस हुँदै गर्दा नेकपा कहाँ उभिन्छ बजेट पढेर थाहा लाग्दैन।

हाम्रो अर्थ राजनीतिको मूल चरित्र कसैले विकृत पूँजीवाद हो भनेर भने, कसैले दलाल पूँजीवाद हो भनेर भने। म यसलाई यार पूँजीवाद हो भनेर भन्छु। नाम जे भएपनि सार एउटै हो। नेकपा यसलाई बदल्न चाहन्छ कि कसेर अँगालो मार्न चाहन्छ? बजेट पढेर थाहा पाइएन, यो बजेटमा नेकपाको विकास दर्शन भेटिँदैन। तर, यसो भनेर म अर्थमन्त्रीजीलाई घोचपेच गर्न चाहन्न। नेकपाको सिद्धान्त के हो भन्ने थाहा भएको भए, सायद उहाँले विकासको दर्शनको संकेत गर्न सक्नु हुन्थ्यो।

नेकपासँग आज संख्या छ, सिद्धान्त छैन। यो मैले भनेको होइन, लाज मानीमानी नेकपाका नेताहरु सार्वजनिक मञ्चमा सिद्धान्त खोजिराख्नु भएको छ। संसदमा उभिएर त्यही भन्दै हुनुहुन्छ। बरु हामीलाई पो सोध्नुहुन्छ, बजेटमा राख्नु पर्ने के थियो? भनेर अहिले आएर सोध्नुहुन्छ।

बजेटको आकार, आर्थिक बृद्धिको लक्ष्य, राजस्वको लक्ष्य यो केही भेट्न सकिन्न। वैदेशिक ऋण उठाउन सक्दैन, उठाएपनि परिचालन गर्न सक्दैन, नयाँ रोजगारी श्रृजना गर्न सक्दैन, पर्यटक आएपनि आम्दानी बढ्दैन। मेरो यस्तो अनुमानहरु पुष्टि गर्न कुनै तथ्य र तथ्यांक म प्रस्तुत गर्न चाहन्नँ।

सभामुख महोदय!

किन कि यसको अर्थ छैन। स्वेत पत्रमार्फत अर्थमन्त्रीजीले ढाँट्नु भयो। प्रधानमन्त्रीले त्यसमा टेकेर ढाँट्नु भयो। तथ्य र तथ्यांकमा टेकेर प्रश्न गर्दै गर्दा उत्तर आयोः हल्ला गर्छस्? बहुमत छ।

गएको वर्ष आर्थिक बृद्धि, राजस्व परिचालन, पूँजीगत खर्च, रोजगारी श्रृजना सबैका तथ्यांकहरु प्रस्तुत भयो। यी सबैमा सरकार चुक्यो। तरपनि बजेटमा सानका साथ लेखेको छ, यो वर्ष गज्जब भयो। हामी भन्छौँः प्रमाण दिनुहोस्। सरकार भन्छः बहुमत देखेको छैनस्। त्यसैले म यसका बारेमा धेरै सोध्न चाहन्न।

म केबल मेरो नैराश्यता व्यक्त गर्न मात्र चाहन्छु। म सांसद भन्दा पहिला नागरिक हुँ। नागरिकको रुपमा मेरो पनि अपेक्षाहरु थियो, यत्रो उथलपुथल र संक्रमणपश्चात स्थिर सरकारले धेरै कुराहरु नगरेतापति रुपान्तरणको बीउ रोप्छ भनेर मेरो अपेक्षा थियो।

संविधानको सार्थक कार्यान्वयन गर्छ, सांघीयतालाई सहि अर्थमा कार्यमूलक बनाउँछ। सुशासन र प्रभावकारी शासनको क्षमतामा विकास गरेर प्रशासकीय क्षमता बढाउँछ। वित्तिय क्षेत्रमा साहासीक सुधार गर्छ। छिमेकमा उदाउँदै गरेको अर्थतन्त्रलाई हाम्रो युवा जनशक्तिसँग जोड्छ र नेपाललाई मान्छे बेच्ने होइन, सामान बेच्ने देशका रुपमा यसको यात्रा अगाडि बढाउँछ।

शिक्षा र स्वास्थ्यको क्षेत्रमा आमूल परिवर्तन गरेर सबैका लागि बराबरको स्थिति निर्माण गर्ला भन्ने मेरो पनि अपेक्षा थियो।
मन्त्रालयगत प्राथमिकता हेर्यो भने, झन निराश बनाउने कुरा छ। शिक्षामा परिवर्तन गर्नका निम्ति भनेर यो सरकारले शिक्षामन्त्रीको संयोजकत्वमा एउटा आयोग बनायो। आयोगको प्रतिवेदन बजेट लेख्दै गर्दा आउँदैन।

मेरै पालामा सात वर्षभित्रमा स्वास्थ्यको प्रत्येक तहमा संरचना निर्माण गर्ने भनेर एउटा ठूलो अध्ययन भएको छ। त्यो अध्ययन स्वास्थ्य मन्त्रालयले चिन्दैन। कृषिको २० वर्षे रणनीतिगत चरणमा हामी छौँ। कृषि मन्त्रालय त्यसलाई चिन्दैन। सार्वजनिक खर्च पुनरावलोकन गर्नका निम्ति त्यत्रो समिति बन्यो, अर्थमन्त्रालयले त्यसलाई चिन्दैन।

यस्तो बेलामा यत्रो अनुसन्धान भएको कुरा यत्रो कार्यक्रम बनाउँदै गर्दा अर्थमन्त्रीलाई अत्तोपत्तो छैन।

सरकार त सँधै थियो। 

सम्माननीय सभामुख महोदय!

 सरकार सँधै रहन्छ। यो स्थिर सरकार बनेको छ। संक्रमण पछाडिको यत्रो अवसर प्राप्त भएको छ। यसको लाभ हामीले के पाउने हो?

यो सरकार स्थिर सरकार नबनेर कुनै बदलिइराख्ने सरकार भएको भए के हुदैनथ्यो जो यो सरकार भएर आएको छ? नेपालमा पहिलो पटक कम्युनिष्टको पूर्ण बहुमतको सरकार छ।

नेपालमा गैर कम्युनिष्टको सरकार बनेको भए आज कम्युनिष्टको सरकार बन्दै गर्दा के कुरा अतिरिक्त यसले गर्दैछ? जसको सरकार नबनेको भए हुँदैनथ्यो?

प्रश्न सरकारमा मात्र होइन। यस्तो बलियो सरकारले नेपालको कम्युनिष्टहरुसँग भएकोमध्ये सबैभन्दा विद्धान व्यक्तिलाई अर्थमन्त्रीको रुपमा पाउनु भएको छ। यत्रो विद्धान अर्थमन्त्री पाउँदै गर्दा देशले के पाउने भयो त सम्माननीय सभामुख महोदय?

बा, आमाले हजार रुपैयाँ, निर्वाचन क्षेत्रको कार्यक्रममा थप दुई करोड। फागुनमा विदा हुँदै गर्दा तपाइको लागि तपाइको नाम यिनै दुई कामले राख्नेमा सन्तोष मान्न खोज्नु भएको हो भने मेरो भन्नु केही पनि छैन।

हुनतः एकजना बलबान सांसद, जसले बालुवाटारको जगै हल्लाइदिने हिम्मत राख्न सक्नुहुन्छ, यहाँ उभिएर हिँजो चुनौति दिनु भयो। बृद्धभत्ताका बारेमा बोल्ने हिम्मत छ? मेरो हिम्मत छ।

सम्माननीय पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको सरकारले विदा लिँदै गर्दा ६५ वर्षको उमेरमा पाँच हजार बृद्धभत्ता पुर्याउँछु भन्दै गर्दा हचुवाको भरमा बृद्धभत्ता बढाउँन पाइँदैन भनेर विरोध गरेको मात्र होइन, कानून बनाउँदै गर्दा ७० वर्षलाई आधार बर्ष बनाउँनु पर्छ, उमेर झार्न पाइन्न भनेर कानून संशोधन गर्न लगाउने सांसद हुँ म।

सामाजिक सुरक्षाका यतिधेरै कार्यक्रमहरु छन्। यसलाई एकीकरण गर्ने, र्यास्नलाइज् गर्ने, कसलाई युनिभर्सल गराउने, कसलाई टार्गेटेड बनाउने भनेर छुट्याउने, उत्पादनसँग जोड्ने सबैभन्दा ठूलो कुरा भनेको सामाजिक सुरक्षा भनेको नगद हस्तान्तरण मात्र होइन। गैर नगदको प्रबन्धबाट तीन हजारमात्र होइन, तीस हजारको सुविधा प्राप्त गर्ने अवस्था कसरी बनाउने? के यसका बारेमा छलफल गर्ने कुरा बान्छनिय छैन?

प्रत्यक्ष निर्वाचित सांसद हुँ म। विकासको माग मलाई पनि थाहा छ। मेरो निर्वाचन क्षेत्रसँग जोडिनु पर्छ भन्ने कुरा मलाई पनि थाहा छ। म पनि जोडिन चाहन्छु। यो बजेटले मेलाम्चीको कुरा गर्छ। यो बजेटले काठमाडौंमा बाहिरी चक्रपथको कुरा गर्छ। सुरुङमार्गमार्फत काठमाडौंलाई बाहिरसँग जोड्ने कुरा गर्छ। सार्वजनिक यातायातको कुरा गर्छ। साइकल सिटीको कुरा गर्छ। अतिक्रमित जमिनलाई फर्काउने कुरा गर्छ। कमसल पूर्वाधारलाई बलियो बनाउने कुरा गर्छ।

अव्यवस्थित शहरीकरणलाई बदलेर हरित शहरीकरणको कुरा गर्छ। यो मेरो निर्वाचन क्षेत्रसँग जोडिएको विषय हो। म योसँग जोडिन चाहन्छु। म कसरी जोडिन पाउँने? प्रश्न सोध्छु, उत्तर आउँदैन। संसदमा प्रस्ताव राख्छु, छलफल हुँदैन। यी सबैसँग मलाई अलग्गै राख्छ र भन्छः माननीय ज्यू, तपाइले ६ करोड रुपैयाँ प्राप्त गर्नु भएको छ। जानुहोस् निर्वाचन क्षेत्रमा। मन्दिरको पर्खाल बनाउनुहोस्। सामुदायिक भवन बनाउनुहोस्। क्रियापुत्रीको भवन निर्माण गर्नुहोस्, आफ्नो क्षेत्रका जनतासँग जोडिनुहोस्।

सम्माननीय सभामुख महोदय!

हामी हाम्रो निर्वाचन क्षेत्रको जनतासँग जोडिनका निम्ति यस्तो ६ करोडको कार्यक्रम होइन, हामी ६ अर्बको, हामी खर्बको, हाम्रो ठाउँसँग जोडिएको नीतिसँग जोडिन चाहन्छौँ। कार्यक्रमसँग जोडिन चाहन्छौँ। योजनासँग जोडिन चाहन्छौँ।

मेरो जस्तै, कर्णालीबाट आउनु भएको माननीयहरुको आफ्नो कथा छ, मेरो जस्तै मधेसबाट आउनु भएका माननीयजीहरुको आफ्नै कथा छ। त्यहाँभित्रका कुराहरुसँग हामी जोडिन चाहन्छौँ। हामीलाई जोडिने त्यी बाटाहरु नखोल्ने? त्यी बाटाहरु सबै बन्द गर्ने? प्रधानमन्त्री समेतले पनि आफ्नो निर्वाचन क्षेत्रको योजना छानेर दुःखका साथ भन्नु पर्छ, सम्माननीय सभामुख समेतले पनि योजना छानेर, मागेर सरकारसँग योजना लिने, अनि हामीलाई मन्दिरको पर्खाल बनाउनलाई ६ करोड रुपैयाँ दिएर संसदलाई बद्नाम गर्ने कामलाई बन्द गरिनु पर्छ।

सम्माननीय सभामुख महोदय!

अन्त्यमा नेपाल कम्युनिष्ट पार्टीले लिएर आएको यो सरकारले ल्याएको यो लोकप्रिय बजेटको समर्थन गर्न माननीयजीहरुकोबीचमा तछाडमछाड देखिएको छ। यस्तो अद्भूत बजेट, यस्तो लोक कल्याणकारी बजेट, यस्तो लोकप्रिय बजेट, लोकहित गर्ने बजेट, सरकारी पक्षको सोच र क्षमता देखेर सकिए साथीहरु भनेर प्रतिपक्षको सांसद भएर खुशी लागेको छ। तर, नागरिक भएर सोच्छु फेरि, अझै तीन वर्ष यो सरकारले बजेट बनाउँछ। मेरो नागरिकको रुपमा अर्को तीन वर्ष खेर जाने भयो। यत्रो अनुकूलको अवसर खेर जाने भयो। नागरिक भएर दुःख लागेको छ।

सम्माननीय सभामुख महोदय, म माननीय अर्थमन्त्रीलाई सोध्न चाहन्छु, म जस्तो एउटा व्यक्ति सांसद भएर खुशी हौँ वा नागरिक भएर दुःखी हौँ म अलमलमा परेको छु। धन्यवाद।

(बजेटमाथि सदनमा भएको छलफलमा थापाले व्यक्त गरेको विचारको सम्पादित अंश)