जाजरकोट- स्कटल्यान्डका १७ वर्षीय लुइस फोरसाइफ र वेल्सका १९ वर्षीय ग्रेफ मार्टिन सदरमुकाम खलंगास्थित त्रिभुवन माविका विद्यार्थीलाई अंग्रेजी सिकाउन लागिपरेका छन्।
‘प्रोजेक्ट ट्रस्ट युके’ बाट स्वयंसेवकका रूपमा एक वर्षका लागि खलंगा आएका उनीहरुले सो विद्यालयका ६ देखि ८ कक्षासम्म अंग्रेजीका साथै गणित, विज्ञान र कम्प्युटर विषय सिकाउनेछन्।
ट्रस्ट युके संस्थाले ‘ए’ लेभल उत्तीर्ण विद्यार्थीबाट आवेदन लिएर नेपालका साथै भारत, म्यानमार, दक्षिण अमेरिका, मलेसिया लगायत ३६ देशमा ३ सय स्वयंसेवकलाई शिक्षण, खेलकुद र समाजसेवामा खटाउने गरेको छ।
ट्रस्टले नेपालमा अंग्रेजीमा कमजोर भएका दुर्गमका विद्यालयमा यस्ता स्वयंसेवीलाई खटाएको छ । चार वर्षदेखि बाग्लुङ, रुकुम, म्याग्दी, प्यूठान र मुस्ताङका विद्यायलमा स्वयंसेवी शिक्षक पठाउँदै आएको उक्त संस्थाले यस वर्षदेखि जाजरकोटमा पनि सेवा सुरु गरेको हो।
संस्थाको सहयोगमा नेपालका ६ जिल्लाका १२ विद्यालयमा २४ स्वयंसेवी शिक्षक पुगेका छन् । स्वयंसेवकले विद्यार्थीलाई अंग्रेजी विषयको गुणस्तर वृद्धिमा विशेष जोड दिने प्रोजेक्ट ट्रस्ट युकेका नेपाल प्रतिनिधि डा शान्तराज शर्मा न्यौपानेले बताए।
शिक्षा मन्त्रालयको सहकार्यमा यो कार्यक्रम सञ्चालन भइरहेको हो। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।