धनगढी – देशभरीमा सम्भवतः सबैभन्दा बढी महिला निर्वाचनमा प्रतिष्पर्धी रहेको कैलालीमा कुनैपनि महिला उम्मेदवार विजयी हुन सकेनन्।
प्रतितिधिसभामा छ र प्रदेशसभामा छ जना गरी कैलालीका विभिन्न निर्वाचन क्षेत्रबाट १२ जना महिला उम्मेदवार प्रतिष्पर्धामा रहेपनि कसैले जीत हासिल गर्न सकेन।
चर्चामा रहेको कैलाली निर्वाचन क्षेत्र नं ५ बाट प्रधानमन्त्री पत्नी डा आरजु राणा देउवाले चार हजार ८०० भन्दा बढी मतले आदिवासी रानाथारु समुदायका नेकपा एमालेका नेता नारदमुनि रानासँग पराजित हुनुप¥यो।
वाम गठबन्धन र नेपाली काँग्रेस दुबैले प्रतिनिधिसभा सदस्यमा महिला उम्मेदवार उठाएको कैलाली क्षेत्र नं १ मा दुवै उम्मेदवारलाई टीकापुर घटनाका आरोपित रेशमलाल चौधरीले पराजित गरे।
दुई वर्षअघि भएको टीकापुर घटनाका आरोपित रेशमलालको जीतलाई अप्रत्यासित मानिएको छ।
निर्वाचन क्षेत्र १ मा विजयी चौधरीले ३४ हजार ३४१ मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्द्वी मदनकुमारी शाहले १३ हजार ४०६ र तेस्रो स्थानमा रहेकी काँग्रेसकी ईश्वरी न्यौपानेले ११ हजार २०३ मत प्राप्त गरिन्।
यसैगरी, विघटित लोकतान्त्रिक फोरम नेपालकी उपाध्यक्ष एवं शैक्षिक क्षेत्रमा चर्चामा रहनुभएकी गीता राणा क्षेत्रीले कैलाली क्षेत्र नं ४ बाट प्रतिनिधिसभामा स्वतन्त्र प्रतिष्पर्धा गर्दा जमानत सम्म जोगाउन सकिनन्।
प्रतिनिधिसभामा यी बाहेक क्षेत्र नं ३ मा राजपा नेपालकी मीना चौधरी र क्षेत्र नं ५ बाट नेमकिपाकी उम्मेदवार नन्दाकुमारी दर्लामी मगरले नगण्य मत मात्रै पाएकी छिन्।
प्रतिनिधिसभामा मात्र होइन प्रदेशसभामा पनि कुनै पनि महिलाले निर्वाचन जित्न सकेनन्।
क्षेत्र नं ३ को प्रदेश ख मा राजपा नेपालकी सीता थारु, क्षेत्र नं २ क मा नेमकिपाकी लक्ष्मी पुनमगर, ख मा संघीय समाजवादी फोरम नेपालकी टीका देवी पुनमगर, निर्वाचन क्षेत्र नं ४ को प्रदेश ख मा देशभक्त जनगणतान्त्रिक मोर्चाबाट भगवती सिंह र प्रदेश क बाट जनसमाजवादी पार्टीकी उम्मेदवार टीकादेवी चौधरी पनि पराजित भइन्।
क्षेत्र नं १ बाट काँग्रेस उम्मेदवार ईश्वरी न्यौपाने, क्षेत्र नं १ बाट वाम गठवन्धनकी उम्मेदवार गरिमा शाहबाहेक अरु महिला उम्मेदवारले जमानत समेत जोगाउन सकेनन्।
यसैगरी, प्रदेशसभामा उम्मेदवार बन्नुभएका छजना महिला नेत्रीमध्ये क्षेत्र नं ५ क बाट कांग्रेसकी उम्मेदवार जीवन रानाबाहेक अरु कसैले जमानत जोगाउन सकेनन्। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।