काठमाडौं– मिलन बगालेको कृति ‘देशदृष्टि’ सार्वजनिक भएको छ। शनिवार काठमाडौंको पर्यटन बोर्डको हलमा आयोजित कार्यक्रममा पुस्तक सार्वजनिक भएको हो।
कार्यक्रममा ख्वःप इन्जिनियरिङ कलेज भक्तपुरका नगर डिजाइनिङ तथा संरक्षण विभागका प्राध्यापक डा मोहनमुर्ति पन्तले पुस्तकले मुख्य रुपमा निर्माण संस्कृति, बसोबास पद्धति, सम्पदा संरक्षण लगायतका विविध पक्षलाई समेटेको बताए। उनले पुस्तकले पाठकलाई यथार्थ जानकारी दिने पनि बताए।
यसैगरी, मदन पुरस्कार विजेता लेखक अमर न्यौपानेले नेपालमा उपयुक्त निर्माण पद्धति नभएको र आफ्नो वास्तुकला पनि बिर्सिएकोमा गुनासो पोखे। भने, ‘निर्माण पद्धतिमा रुचि राख्नेहरुका लागि यो पुस्तक महत्त्वपूर्ण खुराक हो। यो पुस्तक अध्ययन, अनुसन्धान र साहित्यको कोलाज हो।’ उनले सम्पदा संरक्षण नै पुस्तकको महत्त्वपूर्ण पक्ष भएको जनाए।
बगालेले हिमाल खबरपत्रिकाको ‘देशदृष्टि’ स्तम्भमा लेखिएका आफ्ना विभिन्न लेखलाई सम्पादनसहित संग्रह गरेर पुस्तक तयार पारेका हुन्। पुस्तकलाई सांग्रिला बुक्सले बजारमा ल्याएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।