काठमाडौं- एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत अस्ट्रेलियाले विजयी सुरुवात गरेको छ। अस्ट्रेलियाले शनिबार राति सम्पन्न खेलमा अफगानिस्तानलाई ७ विकेटले पराजित गरेको हो।
टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले ३८.२ ओभरमा अलआउट हुँदा २ सय ७ रन जोड्यो। उसका लागि नाजिबुल्लाह जार्डानले ४९ बलमा ५१ रन जोडे। उनले ७ चौका र २ छक्का हिर्काए। त्यसअघि अफगानिस्तानले दुवै ओपनरलाई शून्यमा गुमाएको थियो।
त्यसपछि रहमत साहले ४३ रनको योगदान दिँदा अफगानिस्तानको इनिङ उकासिएको थियो। अफगानिस्तानका लागि गुब्लादिन नइबले ३१ रन जोडे भने रासिद खानले २७ रन बटुले। रासिदले ११ बलमा २ चौका र ३ छक्का हिर्काए। बलिङमा अस्ट्रेलियाका पाट कमिङ्ग्स र एडम जाम्पाले ३-३ विकेट लिए। मार्कोस स्टोइनिसको नाममा २ विकेट रह्यो।
२ सय ८ रनको लक्ष्य अस्ट्रेलायले ३४.५ ओभरमा ३ विकेटको क्षतिमा पार गर्यो। अस्ट्रेलायाका लागि डेभिड वार्नरले नटआउट ८९ रन जोडे। उनले ११४ बलमा ८ चौका हिर्काए। वार्नर खेलको म्यान अफ दि म्याच भए।
ओपनर तथा कप्तान आरोन फिन्चले ६६ रनको योगदान दिए। उनले ४९ बलमा ६ चौका र ४ छक्का हिर्काए। उस्मान खजावा १५ रन र स्टिभ स्मिथ १८ रनमा आउट भएका थिए। ग्लेन म्याक्सवेल १ बल खेलेर ४ रनमा नटआउट रहे। बलिङमा अफगानिस्तानका मुजिब उर रहमान, नइब र रासिद खानले १-१ विकेट लिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।