काठमाडौं– युरोपियन च्याम्पियन्स लिगको उपाधिका लागि इंग्लिस क्लबद्वय लिभरपुल र टोटनह्यामबीच आज मध्यरातमा भिडन्त हुनेछ। खेल स्पेनको राजधानी म्याड्रिडमा नेपाली समयअनुसार राति पौने १ बजे सुरु हुनेछ।
लिभरपुलले सेमिफाइनलमा स्पेनिस क्लब बार्सिलोनामाथि उत्कृष्ट पुनरागमन गरेर लगातार दोस्रो सिजन फाइनलमा स्थान पक्का गरेको हो। सेमिफाइनलमा पहिलो लेगमा ३–० ले पराजित भएको लिभरपुलले दोस्रो लेगमा ४–० को जित हात पारेर फाइनलमा स्थान पक्का गरेको थियो।
यता टोटनह्यामले पनि सेमिफाइनलमा डच क्लब अयाक्ससँग उत्कृष्ट पुनरागमन गर्न सफल भयो। पहिलो लेगमा १–० ले पराजित भएको टोटनह्याम दोस्रो लेगको सुरुवातमै पछि परेको थियो। तर त्यसपछि ३ गोल गरेको टोटनह्याम दोस्रो लेगमा ३–२ ले विजयी भएर फाइनलमा पुगेको हो।
लिभरपुलले युरेपियन फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता युरोपियन कप/च्याम्पियन्स लिग पाँच पटक जितेको छ। पछिल्लो पटक लिभरपुलले २००५ मा च्याम्पियन्स लिगको उपाधि जितेको छ। त्यसपछि दुई पटक फाइनलमा पुगे पनि लिभरपुलले उपाधि जित्न सकेको छ। सन् २००७ मा इटालियन क्लब एसि मिलानसँग पराजित लिभरपुललाई गत सिजन स्पेनिस क्लब रियल म्याड्रिडले हराएको थियो।
यता टोटनह्याम पहिलो पटक युरोपियन प्रतियोगिताको फाइनलमा पुगेको हो। टोटनह्यामले कुनै उपाधि नजिकेको ११ वर्षको भइसकेको छ। पछिल्लो पटक टोटनह्यामले २००८ को लिग कप जितेको थियो। त्यसैले टोटनह्यामले उपाधि जिते च्याम्पियन्स लिगले नयाँ विजेता पाउनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।