काठमाडौं - प्रदेश नम्बर २ को आसन्न स्थानीय तह निर्वाचनमा मतदाताहरु सहज रुपमा निर्वाचन केन्द्रसम्म पुगून् भनेर नेपाली सेना सडक मर्मतमा परिचालन भएको छ।
सैनिक टोली प्रदेश २ का विभिन्न जिल्लामा क्षतिग्रस्त सडक निर्माण र मर्मतमा परिचालित भएको हो। सप्तरीको राजविराजस्थित डुम्री–राजदेवी तथा विरौल–डुम्री–शिवथान–देउरी सडक खण्डका विभिन्न स्थानका क्षतिग्रस्त सडक मर्मत गरी सवारी सञ्चालनमा ल्याइएको छ। सोही जिल्लाको भारदह–पोर्ताह–मयनकडरी–बग्धुवा सडक खण्डमा बाढीद्वारा कटान भएको सडक पनि सेनाको टोलीले मर्मत गरेको छ।
सोही सडक खण्डको हनुमाननगर कंकालिनी इलाकामा बाढीले २८ मिटर कटान गरी ६ फिट गहिरो खाल्डो बनाएको थियो। सो क्षतिग्रस्त सडकमा माटो तथा गिट्टी भरी मर्मत गरिएको सेनाले जनाएको छ।
सिरहको सिराह नगरपालिका ९ गुलेरिया, विष्णुपुर, राजपुर, गोलबजार बेतुना गुर्धाम र भगवानपुर इलाकाको क्षतिग्रस्त सडक समेत मर्मत गरी आवतजावतको व्यववस्था मिलाइएको हो।
बाराको कलैया उपमहानगरपालिका १६, १७, २३ र ब्रम्हपुरी इलाका, पर्साको मसिहानी, लक्ष्मीपुर, पसैनी, जगन्नाथपुर, श्रीपुर तथा रंगपुर इलाका, रौतहटको राजपुर नपामा पनि टोलीले मर्मत गरेको हो।
धनुषा, महोत्तरी, सर्लाही जिल्लाका विभिन्न सडक खण्डमा समेत ग्राभेल गरी सवारीसाधन आवतजावत सञ्चालन गरिएको सेनाले जनाएको छ। प्रदेश नम्बर २ का १ सय ३६ स्थानीय तहमा असोज २ गते तेस्रो चरणमा निर्वाचन हुँदैछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।