गौर– रौतहटका चारवटै निर्वाचन क्षेत्रको अन्तिम परिणाम आइसक्दा प्रतिनिधिसभाका दुई क्षेत्रमा नेपाली कांग्रेस विजयी भएको छ। यस्तै, वाम गठबन्धन र राजपाका उम्मेदवारले एक–एक स्थानमा जितेका छन्।
रौतहट १ मा राजपा अध्यक्ष मण्डलका सदस्य अनिलकुमार झा २१ हजार ४ सय ७२ मतसहित विजयी भएका छन्। उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका कृष्णप्रसाद यादवले १५ हजार ८ सय ७२ मत ल्याए।
यस्तै, क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्यमा कांग्रेसका मोहम्मद आफताब आलमले संघीय समाजवादी फोरम नेपालका किरणकुमार साहलाई पराजित गरे। आलमले १८ हजार ८ सय ३३ मत ल्याउँदा साहले १६ हजार ८ सय ५७ मत प्राप्त गरेका छन्।
रौतहट क्षेत्र नम्बर ३ मा वाम गठबन्धनका तर्फबाट माओवादी केन्द्रका उम्मेदवार प्रभु साह २७ हजार ७ सय ९९ मतसहित जित हासिल गरेका छन्। उनका प्रतिद्वन्द्वी कांग्रेसका सुनीलकुमार यादवले १८ हजार २ सय ६ मत ल्याएका छन्।
रौतहट क्षेत्र नम्बर ४ मा कांग्रेसका देवप्रसाद तिमल्सेना विजयी भएका छन्। तिमल्सेनाले २८ हजार दुई सय २८ मत प्राप्त गरे भने प्रतिस्पर्धी नेकपा एमालेका डा. वंशीधर मिश्रले २३ हजार ६ मत ल्याएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।