महोत्तरी- महोत्तरीका सञ्चारकर्मीले सहज र सरल तरिकाले निर्वाचन सम्बन्धी सूचना पाउन नसकेको गुनासो गरेका छन्।
जिल्ला प्रशासन कार्यालयमा स्थापना गरिएको मिडिया सेन्टरमा मतगणनाका पूर्ण सूचना उपलब्ध गराउन कन्जुस्याइँ गरिएको उनीहरुले बताए।
नेपाल टेलिभिजनमा कार्यरत पत्रकार राजीव रायले मिडिया सेन्टरबाट कूल मतदान संख्या, सदर मत, बदर मत उल्लेख नगरीकन अधूरा समाचार सम्प्रेषण गर्दै आएको बताए।
मतगणना सुरु भएको २४ घन्टापछि नेपाल पत्रकार महासंघको पहलमा स्थापना भएको सो सेन्टरमा तत्कालै सूचना उपलब्ध नगराएका कारण आफूहरुले पुरानो सूचना स्रोत, दर्शकलाई दिन बाध्य हुनुपरेको उनको गुनासो थियो।
यता महोत्तरीको गौशालास्थित रेडियो रुपान्तरणमा कार्यरत पत्रकार सुनिता महतोले सूचना पाउनु हरेक नागरिकको अधिकार भए पनि महोत्तरीका सञ्चारकर्मीले सुलभ रुपमा सूचना नपाएको गुनासो गरिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।