काठमाडौं- ‘हैन, यो देशमा कहिल्यै शान्ति नछाउने भो?’ आइतबार दिउँसो राजधानीको घट्टेकुलोमा भएको बम विस्फोटपछि घटनास्थलमा भेटिएकी स्थानीयवासी नमिता श्रेष्ठ भन्दै थिइन्, ‘माओवादी त एमालेसँग मिल्यो भनेको होइन, फेरि अर्को माओवादी कहाँबाट आयो?’
त्रास, विस्मय र जिज्ञासा भरिएका आँखा मिच्दै उनले भनिन्, ‘जसले हिंसाको कुरालाई राजनीति ठाने उनीहरुले गल्ती गर्दै आए। यस्तो पनि राजनीति हुन्छ?’
 काठमाडौं आइतबार साँझसम्म ३ विस्फोटका समाचार डिजिटल मिडियामा छाए। विस्फोटमा कम्तीमा ४ को मृत्यु भयो भने ५ जनाभन्दा बढी घाइते भएका छन्।
.jpg)
प्रहरीले दिएको जानकारी अनुसार साँझ अबेरसम्म कम्तीमा पनि ७ ठाउँमा बम फेला पर्यो।
प्रहरीले विभिन्न स्थानबाट ९ जनाभन्दा बढी नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका कार्यकतालाई प्रक्राउ गरेको जनाएको छ। 
विस्फोटका घटनाहरुको प्रारम्भिक अनुसन्धानमा विप्लव नेतृत्वको नेकपाको संलग्नता जोडिएसँगै राजधानी अझै बढी त्रस्त देखिन्छ।  
घट्टेकुलो विस्फोटमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रज्वल शाहीको मृत्यु भएको पुष्टि भइसकेको छ।
सोही घटनामा घाइते भएका रविन केसी विप्लव निकट विद्यार्थी संगठनका त्रिचन्द्र क्याम्पस इकाइ अध्यक्ष हुन्।
बम विस्फोटका घटना र कतिपय स्थानबाट कार्यकर्ताहरु प्रक्राउ परेपछि प्रहरीले राजधानीको सुरक्षा व्यवस्था कडा पारेको छ।
.jpg)
ठाउँठाउँमा सवारी साधन रोकेर चेकजाँचको काम भइरहेको देखिन्छ। यद्यपि मानिसहरुमा त्रासको भावना भने देखिएको छ।
‘के होला कसो होला भनेर डर लाग्न थाल्यो, बालबच्चाहरु स्कुल जान्छन्, हामीहरु सडकमा हिँड्नुपर्छ, कहाँ कतिबेला के घटना घट्ने हो भन्ने लाग्न थाल्यो,' आइतबार साँझ बबरमहलमा भेटिएका हरिबहादुर कार्कीले भने, ‘यो राम्रो संकेत होइन। सरकारले सुरक्षाको प्रत्याभूति दिनुपर्छ।’
विप्लव नेतृत्वको नेकपाले सोमबार आव्हान गरेको बन्दको अघिल्लो दिन राजधानीमा छाएको त्रास २०६३ मंसिर ५ गते तत्कालीन नेकपा माओवादी र नेपाल सरकारबीच शान्ति सम्झौतापछि उत्पन्न उच्च तहको त्रास हो।
.jpg)
कुनै बेला पुरानै माओवादीमा सक्रिय विप्लवले बनाएको यो समूहले यस्तै हिंसाको भय सृजना गर्दै जाने हो भने नेपाली राजनीति फेरि एकपटक दुष्चक्रमा फस्नेछ। 
विप्लव समूहले फागुन १० गते ललितपुरको नख्खुस्थित एनसेल कार्यालयअघि विस्फोट गराएको थियो। सो विस्फोटमा लमजुङका सिंहप्रसाद गुरूङको मृत्यु भयो। त्यस्तै फागुन २५ गते उक्त समूहले बसुन्धरास्थित वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरूङको घरमा बिस्फोट गरायो। 

रोहनको घरमा सिलिण्डर बम प्रयोग गरिएकाले आइतबार सुकेधाराको घटनालाई पनि प्रहरीले शंकास्पद हिसाबले हेरेको छ। यद्यपि, प्रहरीले सो घटनाबारे छानबिन भइरहेको बताएको छ।
फागुन ३० मा सरकारले विप्लव समूहका गतिविधिलाई प्रतिबन्ध लगाएपछि झण्डै ५ सय कार्यकतालाई प्रकाउ गरिसकेको छ। तर आफ्ना कार्यकर्ताको हत्या भएको भन्दै सोमबार बन्द आव्हान गरेको विप्लव समूहसँग यो बीचमा सरकारले अनौपचारिक वार्ता पनि गरिरहेको भन्ने समाचार सतहमा आएको थियो। 
‘वार्ताबाटै समस्याको समाधान होस्, देशले अब हिंसा चाहँदैन,' घट्टेकुलो विस्फोटको खबर सुनेर घटनास्थल पुगेका ५२ वर्षीय हेमन्त कोइराला भन्दै थिए, ‘बेलैमा यसबारे सोचियोस्।’
                                                        
                                                        नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
                                सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com  मा
                                पठाउनु होला।