काठमाडौं- महत र केसी ‘फ्याक्टर’ नुवाकोटको जिल्ला राजनीतिमा मात्र केन्द्रित छैन, कहिलेकाहीँ राष्ट्रिय राजनीति समेत हल्लाउने गरेको छ। तर अहिले दुवै संकटमा परेका छन्।
कारण, प्रतिनिधिसभा निर्वाचनको मतगणना जारी रहँदा दुवैले ‘डेन्जर जोन’को सामना गर्नुपरेको छ।
जारी मतगणनाले दुवैको हालत खराब रहेको देखाउँछ। बहुदलपछि २०४८ सालको निर्वाचनमा एक नम्बर क्षेत्रबाट रामशरण महत चुनाव लडेका थिए, तर तत्कालीन एमाले राजेन्द्रप्रकाश लोहनीसँग हार्न पुगे। त्यसपछि उनी नुवाकोट दुई नम्बर क्षेत्रबाट चुनाव लड्दै आए, र जिते पनि। २०५१, ५६, ६४ हुदै ७० सम्म कोही पनि महतका अगाडि टिक्क सकेनन्।
जब मुलुक संघीय राज्यमा रुपान्तरित भयो, रामशरणले क्षेत्र नम्बर एक रोज्न पुगे। प्रदेश एक लिने विषयमा अर्जुननरसिंह केसीसँग समेत उनको निकै ‘टसल’ पर्यो। अन्तिममा सो क्षेत्र महतले नै पाए। जब तामाङ जातीय प्रभाव रहेको क्षेत्रमा माओवादी केन्द्रका हितबहादुर तामाङले टिकट पाए, तब महतको संकट सुरु भयो। वाम गठबन्धनबाट उम्मेदवार बनेका तामाङलाई एमालेको सहयोग रहेपछि प्रभाव जारी मतगणनामा देखिएको छ।
तामाङ १८ हजार २१ मतसहित अगाडि छन्, महतको १४ हजार २ सय ४० मत मात्र छ।
निर्वाचनको मनोनयनका दिन महतले निकै पसिना चुहाउनुपरेको थियो। नुवाकोट क्षेत्र नम्बर १ को टिकट लग्न प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाको सरकारी निवास बालुवाटारमा निकै धाए पनि। टिकट महतले पाए, केसी उछिटिएर २ नम्बर क्षेत्रमा पुगे। जहाँ उनलाई नारायणप्रसाद खतिवडाको डर थियो। त्यसको कारण अहिलेको मतपरिणामले देखाउँदैछ।
मध्यान्तरमा पुगेको नुवाकोट २ को मतगणना अनुसार केसी झन्डै ७ हजार मतले पछि छन्। खतिवडाको २३ हजार ९९ मत छ, केसी १६ हजार ३ सय ३२ मा अड्किएका छन्। २०७० को निर्वाचनमा विमला सुवेदीलाई हराएर केसीले त्यसपछि कांग्रेसको महामन्त्री समेत लडे, सहरी विकास मन्त्रालय पनि सम्हाले।
तर पछिल्लो मतपरिणामले केसीलाई साँच्चिकै ‘डेन्जर जोन’मा पुर्याइदिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।