काठमाडौं– संसदको राज्य व्यवस्था समितिले कर्मचारीको पदपूर्ति नरोक्ने निर्देशन दिएपछि लोकसेवा आयोगले आफ्नो नियमित वार्षिक कार्यतालिका अनुसार नै विज्ञापन खोल्ने भएको छ। जस अनुसार लोकसेवाले अब असोज अन्तिम बुधबार ३० गते नयाँ विज्ञापन निकाल्नेछ।
लोकसेवा आयोगका अध्यक्ष उमेशप्रसाद मैनालीले समितिको निर्णयले काम गर्न सहज भएको बताएका छन्। उनले नियमित कार्यतालिका बमोजिम नै विभिन्न सेवा समूहको कार्यतालिका अनुसार असोज अन्तिम बुधबार र त्यसपछि क्रमशः कात्तिक, मंसिर, पुस, माघ, फागुन र चैतको अन्तिम बुधबार नयाँ विज्ञापन खुल्ने जनाए।
‘समितिको निर्णयले काम गर्न सजिलो भएकाले विभिन्न सेवा समूहको कार्यतालिका अनुसार नै काम अगाडि बढ्छ,’ उनले भने, ‘हामी नियमित विज्ञापन निकाल्ने र पदपूर्ति गर्ने संवैधानिक निकाय हौं, यसअघि केही समस्या भएको थियो तर यो निर्णयपछि सहज भएको छ।’
यसअघि समितिले कर्मचारी समायोजन विधेयक निर्माण भइरहेकाले तत्काल विज्ञापन नर्गन भनेको थियो। तर, शुक्रबार बसेको बैठकले विज्ञापन नगर्दा सरकारी सेवामा प्रवेश गर्न चाहने धेरै नयाँ जनशक्ति अन्यत्र जाने खतरा रहेको भन्दै विज्ञापन खोल्न निर्देशन दिएको हो।
देशमा बेरोजगारी समस्या बढ्दै गएको र दक्ष जनशक्ति विदेशिने क्रम बढेको भन्दै विज्ञापन रोक्न नहुने निर्णयमा समिति पुगेको हो।
लामो समयसम्म विज्ञापन रोक्दा नयाँ जनशक्ति आउन रोकिने भएकाले संसदको समितिलाई नयाँ कर्मचारी भर्ना नरोक्न दवाव पर्दै आएको थियो। समितिमा विभिन्न राजनीतिक दल, नागरिक समाज र कर्मचारीहरुले विज्ञपन नरोक्न लबिङ गर्दै आएका थिए।
समितिको शुक्रबार बिहान सिंहदरवारमा बसेको वैठकमा सांसदहरुले नयाँ र प्रविधिमैत्री जनशक्ति प्रत्येक दिन उत्पादन भइरहेको र त्यसलाई रोक्न नहुने आवाज उठाएपछि समितिले यस्तो निर्देशन दिएको थियो। वर्षौंसम्म एउटै पदमा कार्यरत रहँदा कर्मचारीको समेत मनोवल नबढ्ने भएकाले विज्ञापन रोक्न नहुने तर्क समितिमा उठेको थियो।
सम्बन्धित समाचार:
लोकसेवाको विज्ञापन अब नरोकिने
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।