कैलाली– दशैं–तिहारलाई लक्षित गर्दै जिल्ला अनुगमन समितिले बजार अनुगमन तीव्र पार्ने भएको छ ।
चाडबाडको बेला बजारमा खाद्य सामग्रीको कृत्रिम अभाव र मूल्यवृद्धि हुने तथा मिसावट हुने सम्भावनालाई विचार्दै अनुगमन अघि बढाउने निर्णय गरिएको हो ।
शुक्रबार बसेको समितिको बैठकले दैनिक उपभोग्य सामाग्रीको आपूर्तिमा सहजता ल्याउन र उपभोक्तालाई गुणस्तरीय सामग्री उपलब्ध गराउन अनुगमनलाई तिव्रता दिने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले बताए।
‘चाडबाडमा दैनिक उपभोग्य वस्तुमा उपभोक्ताले महँगो मूल्य तिर्नुपर्ने र सामग्री नपाउने समस्या हटाउन यथाशीघ्र विषयगत कार्यालय र स्थानीय तहलाई अनुगमन तीव्र पार्न निर्देशन दिएको छु’, रिजालले भने।
अनुगमन समिति खाद्य संस्थान र साल्ट ट्रेडिङ कर्पोरेशनसँग समन्वय गरी सुपथ मूल्य पसल सञ्चालन गर्ने भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।