काठमाडौं- बाल यौन दुराचार गरेको अभियोगमा प्रहरीले राजधानीबाट अस्ट्रियाका नागरिकलाई पक्राउ गरेको छ।
अस्ट्रियाका ४५ वर्षीय केन्डलर मार्कसलाई ठमेलको ठँहिटीस्थित एक होटलबाट पक्राउ गरेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले जनाएको छ । विभिन्न मुलुकका नागरिकहरुले नेपाली नाबालकहरुलाई विभिन्न प्रलोभनमा पारी यौन दुराचार गर्ने गरेको भन्ने विशेष सूचनाका आधारमा होटलमा छापा मार्दा उनी पक्राउ परेका हुन्।
सो क्रममा धादिङबाट यौन शोषणको निम्ति काठमाडौं ल्याइएका एक बालकलाई उद्धार गरिएको ब्युरोले जनाएको छ।
ब्युरोका अनुसार, पक्राउ परेका मार्कसमाथि बाल यौन दुराचारका साथै मानव बेचबिखन तथा ओसारपसार मुद्दा अन्तर्गत काठमाडौं जिल्ला अदालतबाट म्याद लिई थप अनुसन्धान भइरहेको छ ।
बाल यौन दुराचार अपराधमा अधिकतम १३ वर्ष कैद सजाय तथा क्षतिपूर्ति समेत भराउने र मानव बेचबिखन तथा ओसारपसार मुद्दा अन्तर्गत निजलाई थप सजाय समेत हुने कानुनी व्यवस्था छ।
को हुन् मार्कस ?
ब्युरोकी एसपी मीरा चौधरीका अनुसार, मार्कस यसअघि विभिन्न समयमा चार पटक नेपाल आएका थिए।
नेपालमा आएर धादिङको गोवरपानी गाँउमा जाने र त्यहाँबाट बालक ल्याएर काठमाडौं ठमेलको होटलमा राख्ने गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ। पहिलो पटक नेपाल आउँदा सम्पर्कमा आएका एक जना नेपालीमार्फत उनी धादिङ पुगेका थिए।
यसपटक भने मार्कस गत महिना नेपाल आएका हुन्।
एसपी चौधरीले भनिन्, 'आरोपितले आफ्नै देश अस्ट्रिया र अन्य देशमा समेत अपराध गरेको देखिएकाले दूतावास मार्फत सोध्नेछौं।'
ब्युरोको टोलीले होटलमा छापा मार्दा उद्धार गरिएका १२ वर्षका प्रहरीले धादिङस्थित घर पठाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।