काठमाडाैं- चर्चित मिथिला चित्रकार रन्जु यादव 'राष्ट्रिय ललितकला पुरस्कार–२०७६' बाट पुरस्कृत भएकी छिन्।
जेठ २ गते बिहीबारदेखि सुरु भएको 'राष्ट्रिय ललितकला प्रदर्शनी–२०७६' को उद्घाटन समारोहमा उपप्रधान एवम् रक्षामन्त्री इश्वर पोखरेलले चित्रकार यादवलाई उक्त पुरस्कार हस्तान्तरण गरेका हुन्। नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले हरेक वर्ष प्रदान गर्ने लोककला विधाअन्तर्गतको राष्ट्रिय ललितकला पुरस्कार चित्रकार यादवलाई दिइएको हो।
'राष्ट्रिय ललितकला प्रदर्शनी–२०७६' मा सहभागी ‘छोरी बचाउ, छोरी पढाउ’ शिर्षकको यादवको मिथिला चित्रलाई उत्कृष्ट ठहर गर्दै ६० हजार रुपैयाँ राशीको उक्त पुरस्कार प्रदान गरिएको हो। सप्तरीको राजविराज-१०, दिघवा निवासी यादव हाल काठमाडौंमा बसी व्यवसायिक चित्रकला क्षेत्रमा विगत ६ वर्षभन्दा बढी समयदेखि साधनारत छिन्।
भारत र बंगलादेश भ्रमण गरेकी र एक दर्जनभन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनीमा सहभागी भइसकेकी यादवको गत चैत्रमा काठमाडौंमा एकल चित्रकला प्रदर्शनी सम्पन्न भएको थियो।
लोककला विधाअन्तर्गतकै विशेष पुरस्कार सिरहाका हरेराम यादव र कैलालीका मिठ्ठु थारु गरी दुई जनालाई प्रदान गरिएको छ।
यस्तै, यस विधाअन्तर्गतकै प्रदेश विशेष पुरस्कार धनुषाकी रेमनी मण्डललाई प्रदान गरियो। विशेष पुरस्कार र प्रदेश पुरस्कारको राशी जनही २५ हजार रुपैयाँ रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।