काठमाडौं- ह्विलचियर एसिया कप टी-१२० क्रिकेट प्रतियोगिता २०१९ मा नेपाल लगातार दोस्रो खेलमा पराजित भएको छ। बिहीबार टियू मैदानमा भएको खेलमा नेपाललाई ८ विकेटले पराजित गरेको हो।
पहिले ब्याटिङ गरेको नेपाल १९.१ ओभरमा १ सय ४८ रनमा अलआउट भयो। नेपालका लागि दिगम सिंह चेमजोङले ३५ रन जोडे। यस्तै होमनाथ राईले ३६ रनको योगदान दिए। डम्बर मगर १९ रन र विष्णु पुकार श्रेष्ठल १६ रन बनाए।
१ सय ४९ रनको लक्ष्य बंगलादेशले १८.३ ओभरमा २ विकेको क्षतिमा पार गर्यो। उसका लागि मोहमद रिपोन उदिनले नटआउट ५० रन र मोमहद असिफले नटआउट १३ रन जोडे। सजिद हुसेनले ३१ रन र जबेद अहमेदले ३८ रन बनाए। बलिङमा नेपालका दिगमसिंह चेमजोङ र सुपर राईले १-१ विकेट लिए।
प्रतियोगितामा भारत लगातार दोस्रो जितसहित शीर्ष स्थानमा छ। पाकिस्तान र बंगलादेशले १-१ जित हात पारेका छन्। नेपाल दुवै खेलमा पराजित छ। सबै टिमले एक-एक खेल खेल्न बाँकी छ। शीर्ष २ टिम फाइनल पुग्नेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।