काठमाडौं– ५ जुन २०१९ मा भारतले आइसिसी एकदिवसीय विश्वकप २०१९ को यात्रा सुरु गर्ने छ। भारतले पहिलो खेल साउथह्याम्टनमा दक्षिण अफ्रिकाविरुद्ध खेल्ने छ।
विश्वकपमा भारतको लक्ष्य उपाधिबाहेक अर्को छैन। भारतलाई ट्रफिबाहेक अन्य चिजले खुसी दिनेछैन। भारतले उपाधिका लागि अहिले सबैभन्दा विश्वास गरेका खेलाडी कप्तान विराट कोहली हुन्।
कोहली टेस्ट, एकदिवसीय र टी–२० का उत्कृष्ट ब्याट्सम्यान हुन्। सन् २०१७ मा भारतले इंग्ल्यान्डविरुद्ध ३ सय ५१ रनको लक्ष्य पूरा गरेसँगै भारतले एकदिवसीय विश्वकप जित्ने विश्वास गर्न थालिएको थियो।
केहिअघि इंग्ल्यान्डका पूर्व अलराउन्डर तथा सन् २०१९ आइसिसी विश्वकपका ब्रान्ड एम्बास्डर एन्ड्रिउ फ्लिन्टफले कोलहीलाई सचिन तेन्दुल्कर भन्दा पनि राम्रा ब्याट्सम्यान भन्दै भनेका थिए– सायद अल टाइम वेस्ट। त्यसैले कोहलीमाथि विश्वकपको उपाधि जित्ने विश्वास करोडौं भारतीय समर्थकको छ।
दिल्लीका मध्यम वर्गिय परिवारमा जन्मिएका कोहलीका पिता प्रेम छोरालाई क्रिकेटर बनाउन चाहन्थे। उनी आफ्ना छोरा भारतको उत्कृष्ट क्रिकेटर बनेर राष्ट्रिय टिमबाट खेलेको सपना देख्न चाहान्थे। त्यसैले उनले कोहलीलाई दिल्लीका प्रशिक्षक राजकुमार शर्माको एकेडेमीमा भर्ना गरिदिएका थिए।
क्रिकेटमा लगनसिल कोहलीले एकेडेमीबाट मेहनत गरेपछि रणजी टिममा स्थान बनाएका थिए। एकपटक रणजी ट्रफीमा दिल्ली र कर्नाटकबीच खेल भइरहेको थियो। दिल्लीको टिमको अवस्था नाजुक थियो। जित निकाल्न मुस्किल थियो। विपक्षी टिमले ४ सय ४६ रन बनाएको थियो। जवाफी ब्याटिङ गरिरहेको दिल्लीले ५ विकेटको क्षतिमा १ सय ३ रन मात्र जोडेको थियो। विराट ४० रन बनाएर खेलिरहेका थिए।
तर, कोहलीको घरको अवस्था ठिक थिएन। त्यही दिन पिता प्रेम कोहलीको निधन भएको थियो। पिताको निधन भएपछि क्रिकेट खेल्ने वा घर फर्कने विषयमा कोहली दोधारमा परे। त्यतिबेला उनले आफ्ना प्रशिक्षकलाई फोन गरेर स्थिति बताए। प्रशिक्षकले विराटलाई आफूले चाहेको काम गर्न सुझाव दिएका थिए। उनले घर जानु सट्टा क्रिकेट खेलेका थिए। कोहलीले विकेटकिपर ब्याट्सम्यान पुनीत विष्टसँग मिलेर दिल्लीको ब्याटिङ लाइनअपलाई मुस्किलबाट बचाएका थिए। त्यहिबेला कोहलीमा क्रिकेटप्रति ठूलो लगाव प्रस्ट देखिएको थियो।
त्यसपछि कोहली भारतको यु–१९ टिमको कप्तान बनेका थिए। उनको कप्तानीमा भारतले युवा विश्वकपको उपाधि जितेको थियो।
उनले सन् २००८ मा श्रीलंकाविरुद्ध खेलेर भारतीय राष्ट्रिय टिममा डेब्यू गरेका थिए। उनले डेब्यू खेलमै अर्धशतक प्रहार गरेका थिए।
त्यसपछि कोहलीले एकदिवसीय खेलमा एकपछि अर्को रेकर्ड बनाउदै आए। लक्ष्य पछ्याउने क्रममा कोहलीले ८४ खेल खेल्दै २१ शतक प्रहार गरेका छन् भने ५ हजार भन्दा बढी बनाइसकेका छन्। उनले २१ शतक बनाएका मध्ये १८ खेलमा भारतले खेल जितेको छ। एकदिवसीय खेलमा उत्कृष्ट लयमा देखिने गरेका विराटले अहिलेसम्म ४१ शतक र ४९ अर्धशतक प्रहार गरिसकेका छन्।
एकदिवसीय खेलमा विराट कोहली
विराटले तेस्रो पटक विश्वकप खेल्न लागेका छन्। सन् २०११ मा घरेलु मैदानमा भएको विश्वकपमा उनी २१ वर्षका थिए जतिबेला भारतले उपाधि जितेको थियो। उनले २०११ मा बंगलादेशविरुद्ध शतक प्रहार गर्दा विरेन्द्र सहवागसँग २०० रनको साझेदारी गरेका थिए। फाइनलमा उनले गौतम गाम्भिरसँग मिलेर ८५ रनको महत्वपूर्ण साझेदारी गरेका थिए। जसकारण भारतले श्रीलंकालाई हराएर उपाधि जितेको थियो।
अस्ट्रेलिया र न्युजिल्यान्डमा भएको सन् २०१५ को विश्वकपमा उनले पाकिस्तानविरुद्ध १ सय ७ रन जोडेका थिए। सो खेलमा भारतले ७६ रनको जित हात पारेको थियो। कोहलीले समूह चरणमा राम्रो ब्याटिङ गरे पनि अस्ट्रेलियाविरुद्धको सेमिफाइनलमा १ रनमै आउट भएका थिए। भारत सेमिफाइनलबाट बाहिरिएको थियो।
पछिल्ला केहि वर्षमा विराट राम्रो फर्ममा छन्। उनले शतक बनाइरहेका छन्। एक्सपर्ट्सहरु उनी करिअरको उच्चतम विन्दूमा रहेको बताउँछन्। विश्वकपको दाबेदार भारतीय टिममा कोहलीसँगै युवा तथा अनुभवी खेलाडीको मिश्रण छ। महेन्द्रसिंह धोनीका लागि यो विश्वकप अन्तिम हुन सक्छ। यस्तो अवस्थामा कोहली टिमले २०१९ को विश्वकप जित्ला? के भारतले तेस्रो पटक विश्वकपको ट्रफी उचाल्ला?
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।