विश्व पौडी च्याम्पियनसिपमा नेपालका चार खेलाडीले प्रतिस्पर्धा गर्ने

नेपाल लाइभ | २०७६ जेठ १ बुधबार | Wednesday, May 15, 2019 १८:५९:०० मा प्रकाशित

काठमाडौं– दक्षिण कोरियाको ग्वाङ्गजु सहरमा आयोजना हुने १८औं फिना विश्व पौडी च्याम्पियनसिपमा सहभागी हुने नेपाली खेलाडीको टुंगो लागेको छ।

नेपाल पौडी संघका अनुसार महिला तर्फ गौरिका सिंह र सोफिया गादेगाद शाहले प्रतिस्पर्धा गर्नेछन्।  पुरुषतर्फ शुभम श्रेष्ठ र एलेक्सजेन्डर गादेगाद शाहले सहभागिता जनाउने छन्। आठौं राष्ट्रिय खेलकुद अन्तरगत सम्पन्न २१ औ राष्ट्रिय पौडी च्याम्पियनसिपमा खेलाडीहरुले प्राप्त गरेको उत्कृष्ट समयका साथ फिना अंकलाई आधार मानि खेलाडी छनोट गरिएको पौडी संघले जनाएको छ।

उक्त प्रतियोगितामा खेलाडीहरुले प्राप्त गरेको समयलाई फिना अंकमा परिवर्तन गर्दा गौरिका सिंहले २०० मिटर फ्रिस्टायलमा २ मिनट ९.१९ सेकेन्ड समयका साथ ६२४ फिना अंक प्राप्त गर्न सफल भएकी थिइन्। यस्तै सोफियाले १०० मिटर फ्रिस्टायलमा १ मिनट २.५९ सेकेन्डका साथ ५१७ फिना अंक प्राप्त गर्दै बिश्व च्यामिपयनसिपका लागि छनोट हुन सफल भएकी हुन्। 

महिलातर्फ वैकल्पिक खेलाडीका रुपमा टिसा शाक्य रहेकी छिन्। शाक्यले १०० मिटर फ्रिस्टायलमा १ मिनट ३.५६ सेकेन्डका साथ ४९४ अंक प्राप्त गरेकी थिइन्। डुवाना लामाले ४०० मिटर फ्रिस्टायलमा ४ मिनट ५०.४७ सेकेन्डमा दूरी पार गर्दै ५२६ अंक प्राप्त गरेता पनि फिनाको नियमानुसार च्याम्पियनसिपमा सहभागी हुन १४ वर्ष पुरा हुनु पर्नेमा उनको उमेर १३ बर्ष ५ महिना १७ दिन मात्र भएकोले उमेरका आधारमा च्याम्पियनसिपमा सहभागी हुन नसकेको संघले जनाएको छ।

यस्तै पुरुषतर्फ शुभमले १०० मिटर ब्रेष्ट स्ट्रोक्समा १ मिनट ८.१५ सेकेन्डमा साथ ५४३ फिना अंक र एलेक्सजेन्डरले १०० मिटर फ्रिस्टायलमा ५५.३८ सेकेन्डका साथ ५३४ फिना अंक हात पार्दै च्याम्पियनसिपका लागि छनोट भएका हुन्। वैकल्पिक खेलाडीको रुपमा रहेका शयद हम्जा शाहले १०० मिटर ब्रेष्ट स्ट्रोकमा १ मिनट ८.८७ सेकेन्डका साथ ५२६ अंक हात पारेका थिए।

आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत भएको २१ औ राष्ट्रिय पौडी प्रतियोगितामा सेनाको प्रतिनिधित्व गर्दै प्रतिस्पर्धा गरेकी गौरिका सिंहले ६ राष्ट्रिय किर्तिमानका साथै आफुले सहभागिता जनाएको सवै विधामा स्वर्ण हात पारेकी थिइन्।