काठमाडौं- नेपथ्यको चर्चित गीत ‘नासै छ्याँबा’ अब म्युजिक भिडियोमा उपलब्ध छ।
‘नासै छ्याँबा मनो ह्योल’ अर्थात् ‘गाउँहरु मध्येमा मनाङको गाउँ राम्रो’। चेलीबेटीहरुलाई सम्बोधन गर्दै अर्को लाइन जोडिन्छ ‘हो रिमै जो’। गुरुङ भाषाको यो पहिलो अन्तरासँगै सुरु हुने गीत ब्यान्डका मुख्य गायक एवं अगुवा अमृत गुरुङले सन् २००४ ताका ट्रेकिङ गर्दै थोराङ पास नाघ्ने बेला मनाङकै परिवेशमा बसेर रचना गरेका थिए।
यसको रेकर्ड भने त्यसको चार वर्षपछि अर्थात् सन् २००८ मा तयार भएको ‘ऐनाझ्याल’ एल्बमका निम्ति गरिएको थियो।
पदयात्रीहरुका निम्ति प्रसिद्ध यो मार्ग लमजुङबाट सुरु भएर मनाङ हुँदै थोराङ ला नाघेपछि मुस्ताङ पुग्छ। बाटैमा मुक्तिनाथ पनि पर्छ। स्थानीयहरुका निम्ति भने यही मार्गले सांस्कृतिक सामाजिक महत्व पनि समेटेको छ। मनसुनको बेला लमजुङ र कास्कीका मानिस मनाङ हुँदै मुस्ताङसम्म पुग्छन्। बाटोमा मुक्तिनाथ दर्शन गर्छन्। त्यसैगरी जाडोमा मुस्ताङ र मनाङका मानिस लमजुङ आउँछन्। यसरी ओहोर दोहोर गर्नेहरुको भावनालाई आधार बनाएरै यो गीत लेखिएको हो।
गीतमा उधौली उभौलीको कुरा पनि छ। त्यसलाई अर्को अन्तराले भन्छ–
‘बैसाख पूर्णे उभौली लाग्यो हिमाल काट्यो चरीले
चकितै पारि लाएको माया सम्झ्यो कि पापीले
मायाको याद मिठो
उजेलो उजेलो’
‘मलाई धेरै अघिदेखि गुरुङ गीत गाउने इच्छा थियो,’ अमृत भन्छन्, ‘त्यसै हिसाबले यसको रचना थालेको थिएँ।’ तर, गीत पूरा हुने बेलामा भने नेपाली अन्तराहरु थपिन पुगे।
‘त्यो बेला भाषा र जातका कुराले मुलुकको सामाजिक सद्भाव नै खलबलिने अवस्था देखेपछि मलाई असाध्यै नरमाइलो लाग्यो,’ अमृतले थपे, ‘त्यसैले गीतको पछिल्लो भाग चाहिँ नेपालीमै पुरा गरेको हुँ।’ यो गीत विशेषतः पहाड र हिमालका वासिन्दाहरुको बीचमा संवाद पनि भएको अमृत सुनाउँछन्।
यसको एउटा अन्तराले भन्छ–
‘हिमाल चुली त्यो पल्लो पट्टि पानी पर्छ कि पर्दैन’
यो लमजुङका बासिन्दाले आम रुपमा राख्ने जिज्ञासाकै सरल अभिव्यक्ति रहेको अमृत सुनाउँछन्।
‘यसरी हिमाल र पहाड गरेर दुई फरक प्रकृति र भूगोल समेटिएको यस गीतमा मैले तराइको झलक पनि आओस् भनेर संगीत चाहिँ दीपचण्डी तालमा गरेको हुँ,’ अमृतले थपे, ‘यो ताल प्रायः तराईकै गीतहरुमा प्रयोग हुन्छ।’
पुराना गीतहरुलाई युट्युब दर्शकको निम्ति पुनः ताजा गर्ने उद्देश्यले यसको भिडियो तयार पारेको नेपथ्यलाई व्यवस्थापन गर्दैआएको नेपालयका किरणकृष्ण श्रेष्ठले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।