पाल्पा– बाँदरले मकै र अन्य अन्नबाली सखाप पारेपछि राहतका लागि किसान गाउँपालिका धाउन थालेका छन्।
पाल्पा जिल्लाको रैनादेवी छहरा गाउँपालिका–४, छहराका किसान उत्पादित अन्नबाली बाँदरले नष्ट गरेपछि किसान समस्यामा परेका हुन्।
वनलाई समुदायको रेखदेखमा रहने जिम्मेवारीपछि हराभरा वन क्षेत्रमा बाँदरको बाहुल्य बढेको होे । बाँदरलाई पहिले बन्दुकले हानेर मार्ने गरेपनि पनि अहिले मार्न पाइँदैन, प्रशस्त कुकुर पनि नभएकाले बाँदरको संख्या बढेको र बस्तीमा प्रवेश गरी अन्नबालीमा क्षति गर्न थालेको स्थानीय बासिन्दा बताउँछन्।
वर्षभरि खाने अन्नबाली नष्ट गरेपछि राहतका लागि निवेदन बोकेर गाउँपालिकाको कार्यालयमा आएको छहराकी रमा खत्रीले बताइन् । पहिला अन्नबाली क्षति कम गरे पनि अहिले ठूलो मात्रामा बाँदर बारीमा पसेर क्षति धेरै गरेको खत्रीको भनाइ छ।
स्थानीय बासिन्दा सीता खत्रीका दुवै बारीका पाटामा मकै छैन, वर्षभरि खाने मकै बारीबाट नै सखाप भएपछि राहतका गाउँपालिका धाएको उनले बताइन् ।
पहाडी जिल्ला पाल्पामा धानभन्दा मकैबाली राम्रो उत्पादन हुने भए पनि बाँदरले क्षति गर्दा किसानले पाकेको बाली स्याहार्न पाएका छैनन्।
बाँदरले अन्नबाली सखाप पार्यो भनेर रैनादेवी छहरा गाउँपालिकामा राहतका लागि पाँच सातवटा निवेदन दैनिकजसो आएका छन्।
स्थानीय बासिन्दा तथा किसान गणेश न्यौपानेका अनुसार मकै मात्र होइन, तरकारी, सुन्तलालगायतका वस्तु पनि बाँदरले खाने र नष्ट गर्न थालेपछि यो गाउँपालिकामा सयौँभन्दा बढी घरपरिवार समस्यामा परेका हुन् । बाँदरको क्षतिबाट किसानलाई ठूलो मर्का परे पनि राहत वितरणको कार्यक्रम गाउँपालिकामा छैन ।
उक्त गाउँपालिका प्रमुख रामबहादुर कार्कीले बाँदरले मकै सखाप पा¥यो भनी राहतका लागि निवेदन परेकाले किसानलाई परेको समस्या सम्बोधन गर्न कार्यक्रम ल्याउने तयारीमा रहेको बताए। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।