काठमाडौं– उपत्यकामा कार्यरत ७५ प्रतिशत ट्राफिक प्रहरीलाई निर्वाचनमा खटाएपछि राजधानीका सडक अस्तव्यस्त बनेका छन्। ट्राफिक बत्ती समेत नभएको राजधानीमा ट्राफिक नै नहुँदा यातायात आवागमन अस्तव्यस्त बनेको हो।
राजधानीमा कार्यरत करिब १ हजार ३ सयमध्ये ९ सय ट्राफिक प्रहरी विभिन्न जिल्लामा निर्वाचनका लागि खटिएका छन्। ५ सय ट्राफिक प्रहरी उपत्यका बाहिर र ४ सय उपत्यकाभित्रै निर्वाचन सुरक्षामा खटिएका छन्। बाँकी ४ सय ट्राफिकमध्ये कतिपय बिरामी छन् भने केही कार्यालयको ड्युटीमा छन्। जसकारण ट्राफिक व्यवस्थापन मिलाउन निकै कठिन भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ।
‘अझै धेरै ट्राफिक प्रहरी चुनावमा खटाउन माग भएको थियो,’ महाशाखाका प्रवक्ता एसएसपी उमेश रञ्जितकार भन्छन्, ‘हामीले समस्या हुन्छ भनेर ९ सय मात्र पठायौं।’
मुख्य सडकखण्डमा ट्राफिक प्रहरी नहुँदा जाम र ट्राफिक नियम उल्लंघन बढेको छ। ट्राफिक प्रहरी नहुँदा महाशाखाले नियमित ट्राफिक नियम मिच्नेहरुलाई दैनिक रुपमा लिने गरेको कक्षा पनि केही दिनलाई स्थगित गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।