नारायणगोपाल र रेडियो नेपाल
रेडियो नेपालप्रति उहाँको सधैं गुनासो रह्यो। देशको एउटा मात्र प्रसारण माध्यम, त्यो पनि सरकारी स्वामित्व भएको, रेडियो नेपालले रेकर्डिङको राम्रो व्यवस्था गर्नुपर्छ भन्ने उहाँको भनाइ थियो। तर, त्यहाँ रेकर्डिङ गर्नुपर्दा एकमुष्ठ बाजा बजाउनेहरु समेत उपलब्ध हुँदैनथे। भएका वाद्यवादकहरुमा पनि अनुशासन भन्ने वस्तु रत्तिभर थिए। आफैंले दौडधुप गरेर बल्लबल्ल जुटाएका वाद्यवादकहरु पनि रेकर्डिङ सुरु हुँदा चिया खान गइसकेका हुन्थे।
उहाँलाई सुरुसुरुमा त डेट पाउन पनि गाह्रो थियो। उहाँले रेडियोमा गाउन छाड्नुभएको मूल कारण पनि यही वाद्यवादकहरुको अभाव, अनुशासनहीनता र ‘डेट’ को समस्या थियो। उहाँलाई जुन दिन रेकर्डिङको डेट दिइन्थ्यो, त्यस दिन निश्चित समयमा गाउन जाँदा अर्कैले गाइरहेको हुन्थ्यो। पहिलो कुरा त उहाँ मलाई डेट चाहियो भन्दै नजाने, बल्लबल्ल पाएको पालोमा पनि अर्कैले गाइदिने, यिनै कारणले दिक्दार भएर उहाँले पनि रेडियोमा गाउनै पनि छाडिदिनुभयो।
डा. लोहनी सञ्चारमन्त्री हुँदा रेडियो नेपालको विज्ञापन सेवालाई बिस्तार गरियो र त्यससँग सम्बद्ध कलाकारहरुलाई प्रोत्साहित गर्ने भनियो। यस सम्बन्धमा उहाँको विचार थियो- विज्ञापन सेवाको बिस्तार गर्दा गीतहरु बजाउनैपर्छ। त्यसैले जुन-जुन कलाकारका गीतहरु बजाएर विज्ञापन सेवा चलाइन्छ र आर्जन गरिन्छ, ती कलाकारहरुलाई एक पटक बजेको गीतको पाँच पैसा मात्र किन नहोस्, रोयल्टी स्वरुप दिइनुपर्छ।
यस विषयमा उहाँले मन्त्री र सञ्चारका अन्य पदाधिकारीहरुलाई भेटेर कुराकानी समेत गर्नुभयो, तर खै अहिलेसम्म पनि केही हुन सकेको छैन। कारण यही हो- पछि उहाँले रेडियोलाई ‘गीति-यात्रा’ का गीतहरु बजाउन दिनुभएन। उहाँ कलाकारहरुको हितमा एउटा सिस्टम बनाउन चाहनुहुन्थ्यो। आफ्नो सम्पूर्ण जीवन नै यसैमा समर्पण गरेका कलाकारहरुलाई सम्बन्धित क्षेत्रले बेवास्ता गर्छ भने उनीहरुको परिवार कसरी चल्छ त भन्नुहुन्थ्यो। सम्भ्रान्त हुन नसकोस् तर कुनै पनि कलाकारले कसैका सामुन्ने हात पसारेर खानु नपरोस् भन्नुहुन्थ्यो। तर, कसैले ठगेर, ढाँटेर र बेइमानी गरेर खाएको उहाँलाई उचित लाग्दैनथ्यो।
सांस्कृतिक संस्थानमा (महाप्रबन्धक भएर) जानासाथ उहाँले पहिलो काम यस्तै गर्नुभयो। त्यबेला त्यहाँ दुईतिर जागिर खाने र नाचघरमा चाहिँ हाजिर गरेर रेडियो र अन्यत्र काम गर्न जाने कलाकार र कर्मचारीहरु निकै थिए। यस्ता केही कर्मचारी र केही कलाकारहरुलाई निकाल्नुभयो। तर, त्यही संस्थानकै आधारमा जीवन धान्दै आएका कलाकारलाई निकालिएन। यस कुरालाई लिएर पत्रपत्रिकाहरुले विरोध र गाली पनि छापे तर उहाँले टेर्नुभएन। उहाँको पालामा जति राम्रो कार्यक्रम त्यहाँ फेरि हुन सकेन।
उहाँको पालामा सांस्कृतिक संस्थानले आफ्नै आर्जनबाट प्रशासन चलाएको थियो, कलाकार पालेको थियो। कार्यक्रमको सार्वजनिक प्रदर्शनी गरिएपछि बाहिरका या कलाकारका नातेदारले सित्तै हेर्न पाउँदैनथे। टिकट काटेर नै हेर्नुपर्थ्यो। कलाकारका नातेदार या कसैलाई कार्यक्रम देखाउनु छ भने ‘ग्रान्ड रिहर्सल’मा देखाउनुपर्थ्यो। म पनि त्यही बेला हेर्थेँ। यदि त्यसबेला काम विशेषले हेर्न भ्याइएन भने टिकर काटेरै हेर्थेँ।
यति हुँदाहुँदै पनि कसैले जबर्जस्ती बिना टिकटमा आफ्ना मानिसलाई घुसाएर कार्यक्रम देखायो भने त्यसको हर्जाना उसको तलबबाट असुल गरिन्थ्यो। यही कारणबाट उहाँ अलोकप्रिय पनि हुनुभयो। अनुशासन र नीति विरुद्ध खेली-खाई आएका कर्मचारीहरु यसलाई अन्यायपूर्ण ठान्थे। त्यसैले उहाँलाई बढ्ता भएको, घमण्डी भन्ने आरोपहरु पनि लगाइए। तर, उहाँ आफ्नो निर्णयमा डगमगाउनुभएन ।
संगीत कोषको चाहना
कहिलेकाहीँ मानिसहरुले दिएका नराम्रा दबाबहरुबाट पनि सार्थक कुराको जन्म हुँदो रहेछ।
हाम्रो सन्तान नभएकोमा नातागोताहरुबाट चियोचर्चा भइरहन्थ्यो। तिमीहरुको सन्तान छैन, शेषपछि घरबार-सम्पत्तिको हेरचाह कसले गर्छ? कसले सम्हाल्छ? भन्ने कुरा उठाइरहन्थे। दुखिरहेको घाउलाई कोट्याइदियो भने झन् दुख्छ नि! फलाना-ढिस्कानालाई ‘धर्मपुत्र’ राख भन्ने सल्लाह पनि दिन्थे। यस्ता कुराले उहाँलाई घोचिरहन्थ्यो। अनि उहाँले एउटा संगीत स्कुल खोल्ने विचार गर्नुभयो।
कसैलाई धर्मपुत्र पाल्नुभन्दा एउटा संगीत स्कुल खोलेर आर्थिक रुपमा विपन्न, असहायहरुलाई संगीत सिकाउने उहाँको ठूलो मनोकांक्षा थियो।
पछि उहाँलाई अस्पतालको आइसियूमा राखिएको बेला उहाँले मलाई किटान गरेर भन्नुभएको थियो- ‘म नरहे पनि तिमीले एउटा संगीत सम्बन्धी विद्यालय खोल्नू र वसन्त चौधरीलाई त्यसको अध्यक्ष बनाउनू। यस बाहेक नगेन्द्र थापा, विश्वम्भर प्याकुर्याल र मेरा अन्य साथीहरुलाई पनि त्यसमा समावेश गराउनू। तिमीले केही गर्नु पर्दैन, मेरा साथीहरुले तिम्रो इच्छा मुताबिक तिमीलाई सहयोग गर्नेछन्।’
उहाँको जीवनभरिको सिङ्गो अनुभवको उपलब्धि हो- यो नारायणगोपाल संगीत कोष, उहाँको अन्तिम इच्छाको प्रतिरुप हो- यो नारायणगोपाल संगीत कोष र उहाँका सम्पूर्ण साथीहरुको प्रयासको परिणति हो- यो नारायणगोपाल संगीत कोष।
(नारायणगोपालकी धर्मपत्नी पेमलाले ‘बागीना’ पत्रिका (०४९) मा लेखेको ‘नारायणगोपालसँगका मेरो बीस वर्ष’ आलेखबाट माथिका दुई प्रसंग साभार गरिएको हो। पेमलाको ०६१ साल असार १६ गते निधन भएको थियो।)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।