दार्जिलिङले जुराएको दोस्ती
नारायणगोपाललाई म प्रायः ‘नारान’ भनेर बोलाउँथेँ। सामान्यतया हामी एक-अर्कालाई ‘सोम’ भन्थ्यौं। उसले मेरो नाम लिएर कहिले पनि बोलाएन। निकै अन्तरंग साथी भए पनि हामीले एक-अर्कालाई सधैं तपाईं नै सम्बोधन गर्यौं। नारान र गोपाल गोपाल योञ्जन त मित नै थिए, ‘मितज्यू’ भन्थे।
०१९ सालतिर म दार्जिलिङमा बीए पढ्दै थिएँ। सँगै पढ्ने क्रममा गोपालसँग साथी भएँ। नारान चाहिँ त्यतिबेला भारतको बडोदामा शास्त्रीय संगीत पढ्दै थियो। ऊ एकचोटि दार्जिलिङ आएको बेला पहिलो भेट भयो।
गोपाल, कर्म योञ्जन र म बेलाबेला नारानको स्वरको चर्चा गर्ने गर्थ्यौं, तर प्रत्यक्ष रुपमा देखभेट भएको थिएन। ईश्वरवल्लभसँग भने नारानको संगत रहेछ। वल्लभले लेखेका एक-दुइटा गीत नारानले गाइसकेको थियो। त्यसबेला वल्लभ, बैरागी काइँला दार्जिलिङमै थिए। उनीहरु र इन्द्रबहादुर राई मिलेर तेस्रो आयाम साहित्यिक आन्दोलन चलाएको त्यतिबेलाकै कुरा हो।
नारानसँग दार्जिलिङमा चिनापर्ची गराउने उनै वल्लभ थिए। औपचारिक चिनजान मात्रै भयो । पहिलो चोटि आउँदा ऊ घुम्न मात्रै आएको थियो। तर, दोस्रो चोटि ऊ आफ्नी पत्रमित्र श्रोतालाई भेट्न आयो। त्यसबेला उसले गाउनको लागि गोपाल योञ्जनका आठ वटा गीत पनि छानेको थियो।
त्यतिबेला ‘ए कान्छा ठट्टैमा बैंश जान लाग्यो’, ‘स्वर्गकी रानी’ जस्ता गीतबाट नारान चर्चामा आइसक्दा ती गीत सुनेर दार्जिलिङको सुकियामा बस्ने एउटी केटीले उसलाई मन पराउन थालेकी रै’छिन्। उनी रहिछन्, पेमला लामा। उनीहरुबीच पत्र आदानप्रदान हुँदो रै’छ। समय गुज्रिँदै जाँदा पत्रमित्रबाट उनीहरु प्रेमी-प्रेमिका भए। पछि त प्रेम विवाह नै गरे।
मित्रतामा कस्तो हुन्छ भने, कोहीसित लामो उठबस गर्दा पनि घनिष्ट भइँदैन। नारानसँग भने छोटो समयमै म निकट भएँ। दुई-चार दिनको घुलमिलमै हामी यति नजिक भयौं, मानौं हामी बीसौं वर्षदेखिका साथी हौं। गोपालसँग पनि म त्यस्तै एकदमै तुरुन्तै आत्मीय भएको थिएँ।
शास्त्रीय संगीत छाडेकोमा पिता रुष्ट
बिए पास गरेपछि म काठमाडौं फर्किएँ। मलाई गोपाल योञ्जनसँगको दोस्तीको बानी परिसकेछ, काठमाडौं त शून्य लाग्यो। त्यसपछि दार्जिलिङ गएर गोपालकी आमासँग कुरा गरेर उसलाई पढ्ने, बस्ने व्यवस्था मिलाउने वाचा गरी काठमाडौं लिएर आएँ।
म आएकै समयमा नारान पनि शास्त्रीय संगीत अब नपढ्ने भनेर बरोदाबाट फर्केर आएछ।
मैले सोधेँ, ‘किन यसरी बीचैमा छोडेर आएको?’
उसको तर्क थियो, ‘योभन्दा बढी मैले क्लासिकल म्युजिक पढेँ भने म सुगम संगीतमा जान सक्दिनँ। म क्लासिकलमै डुब्छु। एउटा आधार तयार भयो, यति नै पर्याप्त छ।’
उसका बुबा आशागोपाल नामी सितारवादक हुनुहुन्थ्यो। उहाँमा शास्त्रीय संगीतप्रति गहिरो प्रेम थियो। बुवाको करले नै खासमा नारान बडोदा गएको थियो। तर, नारान त्यसरी पढाइ छोडेर आएपछि आशागोपाल पछिसम्म पनि मलाई भनिरहनुहुन्थ्यो, ‘थापा बाबू, त्यसले टेर्ने तपाईँलाई हो। हामीले भनेको त मान्दै-मान्दैन। शास्त्रीय संगीत सिक्नुपर्यो भनेर तपाईंले सम्झाइदिनुपर्यो। उसले गाइनेले जस्तो ‘ए कान्छा ठट्टैमा बैंश जान लाग्यो’ जस्तो गीत गाउनुभएन।’
बुवाकै प्रभावले होला, ऊ सितार पनि राम्रो बजाउँथ्यो।
उसले कुस्ती सिकेकै हो भन्ने कुरा जिउ हेर्दा पनि थाहा हुन्थ्यो। एकदम बलिष्ठ थियो नारान। किलागलमा रहेको उसको पुरानो घरमा सबैभन्दा माथिल्लो तलामा बस्थ्यो। त्यहाँ जाँदा कहिलेकाहीँ ऊ लुंगी र गन्जी लगाएर तानपुरा घुमाउँदै हनुमान नाच भन्दै देखाउँथ्यो। त्यसरी ऊ उफ्रँदा काठ र माटोको घर लिरिलिरी हल्लिन्थ्यो।
अब्बल पत्रकार
हामीबीच संगीतबारे छलफल पनि हुन्थ्यो। त्यसै क्रममा नारान र म संगीत सम्बन्धी पत्रिका निकाल्नुपर्छ भनेर ‘बागीना’ त्रैमासिक पत्रिका निकाल्न थाल्यौं।
पत्रिकाको नाम राख्ने कुरामा ‘संगीत’ शब्द नै राख्दा सामान्य भाषा हुन्छ, यसलाई नेपालीकरण गरौं न भन्ने कुरा आयो। संगीतले के-के कुरा बुझाउँछ ? बाजा, गीत, नाच। उसो भए ‘बागीना’ राखौं भनेर त्यो शब्द मैले फुराएँ। यस्तो पत्रिका निकाल्नुपर्छ भन्ने आइडिया चाहिँ उसैको हो।
नारानको स्मृति अंकसहित पत्रिकाको जम्मा २४ अंक निस्कियो। तर, उसलाई असफल पत्रकार भन्ने बात लाग्ने गरेको छ। त्यसो भन्नेहरूलाई म चुनौती दिन्छु, अहिले कसैले संगीतको त्यस्तो पत्रिका चलाएर हामीले जति अंक निकालेर मात्र देखाऊन्, म उनीहरुलाई गुरु थाप्छु । त्यो त ३०/३२ सालतिरको कुरा हो। त्यसबेलाको भन्दा अहिले संगीत बुझ्ने र संगीत पढ्ने मान्छे धेरै छन्। तर, संगीतको त्यस्तो खँदिलो पत्रिका त खै देखिँदैन।
त्यसबेला पत्रिकाको लागि लेखरचनाको यति अभाव हुन्थ्यो, एउटै नाम दोहोरिराख्दा राम्रो हुँदैन भनेर म आफ्नो नाम फेरी-फेरी लेखरचना लेख्थेँ। गोपाल पनि सहयोगी थिए। तर, सक्रिय चाहिँ नारान र म थियौं। त्यो समयमा त्यस्तो पत्रिका निकाल्नु नै ठूलो पुरुषार्थ हो।
हनुमान नाच देखाउने पहलमान !
नारान बितेपछि मैले ०४९ सालमा निस्किएको बागीनाको स्मृति अंकमा एउटा लामो लेख लेखेको थिएँ। त्यसमा अन्तरंग मित्रको रुपमा उसको व्यक्तित्व र विशेषता केलाउँदै सम्भावना दर्शाएको थिएँ –
नारान गायक नभएको भए संगीतकार हुन्थ्यो कि ?
संगीतकार पनि नभएको इतिहासको प्राध्यापक हुन्थ्यो कि ?
इतिहासको प्राध्यापक पनि नभएको भए पहलमान हुन्थ्यो कि ?
ऊ कुस्ती खेल्ने पहलमान पनि थियो। त्यो प्रसंग मैले नै लेखेको हो। मेरो लेखकै कुरा ‘कोट’ गर्दै पछि-पछि निकै प्रख्यात लेखकहरुले किताब निकाले। तर, तिनमा कतै पनि स्रोत उल्लेख गरेको छैन। जसले आफ्नो किताबमा कुस्तीवाजको प्रसंग लेखे, त्यतिबेला ती व्यक्तिहरुले नारानलाई भेटेकै थिएनन्।
उसले कुस्ती सिकेकै हो भन्ने कुरा जिउ हेर्दा पनि थाहा हुन्थ्यो। एकदम बलिष्ठ थियो नारान। किलागलमा रहेको उसको पुरानो घरमा सबैभन्दा माथिल्लो तलामा बस्थ्यो। त्यहाँ जाँदा कहिलेकाहीँ ऊ लुंगी र गन्जी लगाएर तानपुरा घुमाउँदै हनुमान नाच भन्दै देखाउँथ्यो। त्यसरी ऊ उफ्रँदा काठ र माटोको घर लिरिलिरी हल्लिन्थ्यो।
ऊ भन्थ्यो, ‘बुझ्नुभो सोम, मलाई कुश्तीमा सबभन्दा मन पर्ने शैली चाहिँ धोबीपाट हो।’
जसरी धोबीहरुले खोला वा पोखरी किनारमा कपडा पछार्छन् नि, त्यसलाई कुश्तीको एउटा कला धोबीपाट भनिँदो रहेछ। त्यस्ता अनौपचारिक कुरा हामीबीच भइरहन्थे। त्यो प्रसंग किलागलमा बस्ने उसका केही अन्तरंग साथी र बाहिर मदेखि बाहेक कसैलाई पनि थाहा छैन। अरुले यसबारे जति पनि लेखेका छन्, मेरो लेख हेरेर लेखे पनि स्रोत नखुलाई लेखेका छन्। मलाई दुःख लाग्छ यो कुरा।
त्यो मान्छे देख्नमा मात्र गायक हो, अध्येता हो खासमा। असाध्यै पढ्थ्यो। इतिहासको विद्यार्थी हो ऊ। नेपालको इतिहास त कण्ठस्त थियो नै, विश्व इतिहास पनि राम्रो अध्ययन गरेको मान्छे। त्यो बेलामै उसले नियमित पढ्ने पत्रिका थियो, नेशनल जोग्राफिक।
पेमलासँग प्रेम विवाह गरेर घरले नस्विकारेपछि नारान पोखरामा कवि भूपी शेरचनको घरमा बस्न थालेको थियो। त्यहाँ डेढ/दुई वर्षसम्म बस्यो। संघर्षको त्यो बेलामा म गोपाल र नारानलाई कुनै काम दिलाउन सकिन्छ कि भनेर विभिन्न मान्छे भेटिरहेको थिएँ, बाझाबाझ गरिरहेको थिएँ।
एग्रेसिभ म्यान
मान्छे अलि एग्रेसिभ हो नारान। मन नपरेपछि मान्छे कुटि पनि हाल्ने। त्यस्तै कुटाइ खानेमा एउटा फुटबल खेलाडी पनि छ।
नारानको कान्छी बहिनी थिइन्, शान्ति। एउटा केटोले जिस्काउँदो रै’छ उनलाई, त्यो केटो रै’छ फुटबल खेलाडी। एकदिन त्यसबारे बहिनीले नारानलाई गुनासो गरिछन्।
त्यसबेला हाम्रो जमघट हुने ठाउँ न्युरोडको इन्दिरा रेष्टुराँ थियो। साँझपख हामी कविहरु सबै त्यहीँ चिया-कफी खान्थ्यौं, गफ गर्थ्यौं। त्यहाँ आउँदा हामीले पत्ता लगायौं, बिहान प्रायः त्यो केटो इन्दिरामा आउँदो रै’छ। न्युरोडतिरै घर हुँदो हो त्यसको।
नारानले एकदिन मलाई फोन गरे, ‘आउनुस् न इन्दिरामा एकचोटि।’
म जाँदा नभन्दै त्यो केटो चिया खाइरहेको रै’छ। नारान जुरुक्क उठेर ‘मेरो बहिनीलाई तँ जिस्काउने?’ भनेर कुट्दै बाहिर लिएर आयो। बाहिर भर्याङ नजिकै रेलिङ थियो, पिट्ने क्रममा त्यो रेलिङबाट खसाउन लाग्दा मैले रोकेँ।
साथीलाई भने निकै माया गर्थ्यो। पेमलासँग प्रेम विवाह गरेर घरले नस्विकारेपछि नारान पोखरामा कवि भूपी शेरचनको घरमा बस्न थालेको थियो। त्यहाँ डेढ/दुई वर्षसम्म बस्यो। संघर्षको त्यो बेलामा म गोपाल र नारानलाई कुनै काम दिलाउन सकिन्छ कि भनेर विभिन्न मान्छे भेटिरहेको थिएँ, बाझाबाझ गरिरहेको थिएँ।
त्यतिखेर फोनको प्रचलन कमै थियो। नारान र म चिठी पठाउँथ्यौं एक-अर्कालाई। फलानोसँग यस्तो कुरा भो, उस्तो भो भनेर कुरा हुन्थ्यो।
नारान चिठीमा रमाइलो पारामा लेख्थ्यो, ‘सोम, को-को मान्छेले तपाईंलाई के के नराम्रो गरेको छ, सप्पै नाम टिपेर राख्नुहोला। म फर्केपछि सप्पैको टाउको फुटाइदिन्छु।’
गीत छनोटले बनेका नारायणगोपाल
नारान यसरी नारायणगोपाल बनेर श्रोताको मनमा छाउनुमा गीत छनोटको पनि धेरै हात छ। मनपरी गीत गाइदिएको भए त के हुन्थ्यो र?
नारानको संगीतयात्रामा दुइटा चरण स्पष्ट देखिन्छ। पहिलो, ऊ काठमाडौंमै पढ्दा रत्न शमशेरहरुको गीतलाई संगीतबद्ध गरेर गाउँदाको समय। दोस्रो, गोपाल योञ्जन र मसँग संगत भइसकेपछिको नारान। यी दुईमा निकै भिन्नता पाइन्। त्यो अन्तरालमा निकै गम्भीरता र गहिराइ आइसकेको छ।
त्यसबेला गीतमा नयाँपन लिएर आउनुपर्छ भनेर गोपाल र मैले सुरु गरेका थियौं। त्यसबेला यता (काठमाडौं)को गीतभन्दा उता (दार्जिलिङमा हामीले सिर्जना गरेको) को गीत अलिकति गम्भीर र कविताको नजिक छ। मेरो गीत कस्तो छ, त्यो चाहिँ श्रोताले विश्लेषण गरुन्। गोपालको गीतबाट संगीत हटाइदिनुभो र शब्द मात्र पढ्नुभो भने पनि त्यसले विशेष अर्थ राख्छ। त्यसको साहित्यिक मूल्य छ।
मैले होच्याएर भनेको होइन, ‘ए कान्छा ठट्टैमा यो बैंश जान लाग्यो’ भन्ने गीतबाट संगीत र त्योभन्दा पनि नारानको स्वर हटाइदिने हो भने त्यसको अर्थ छ र?
नारानले पछि छान्न थालेको हो गीत। जोसुकै गीतकारको पनि गीत लिँदा छानेरै लियो। गीत छनोट गर्ने क्रममा नाम चलेकै गीतकारहरुको गीत पनि पन्छायो।
गोपाल योञ्जन नभएको भए नारानको संगीत यात्रामा धेरै नै फरक पर्थ्यो। किनभने जुन तहको नारानको स्वर थियो, त्यो स्वरलाई एकदम रमझम पार्ने र अझ उँचाइमा पुर्याउने चिज गोपालको संगीत र शब्दले गरेकै हो।
गोपाल योञ्जन नभएको भए !
यसको जवाफ अलिकता हाइपोथेटिकल होला। तर, गोपाल योञ्जन नभएको भए नारानको संगीत यात्रामा धेरै नै फरक पर्थ्यो। किनभने जुन तहको नारानको स्वर थियो, त्यो स्वरलाई एकदम रमझम पार्ने र अझ उँचाइमा पुर्याउने चिज गोपालको संगीत र शब्दले गरेकै हो।
त्यसबेला गोपाल योञ्जन र मेरा जुन आठ वटा गीत आए, ती गम्भीर प्रकारका गीतहरु छन्। ‘तिम्रो जस्तो मुटु मेरो पनि’, ‘मेरो गीत मेरै प्रतिविम्ब होइन’, ‘जीवनदेखि धेरै थाकेर’ जस्ता गीतहरु खासमा कविता हुन्। गोपाल संगीतकार भई आफैं सशक्त गीतकार पनि थिए।
त्यसबेला गीत रेकर्ड गर्ने त्यति माध्यम थिएन। रेडियो नेपालले एक/दुई वर्षमा एकचोटिमा बढीमा चार वटा गीतको कोटा दिन्थ्यो रेकर्ड गर्न। अब गोपालले मेरो गीत गर्ने कि आफ्नै गीतमा काम गर्ने ? त्यस कारण गोपालले मलाई गीत लेख्न कर गरे पनि हुन्छ, लेखिहाल्छु भने पनि टारिरहेँ। मैले जति पनि गीत लेखेँ, दार्जिलिङमै लेखेँ।
गोपालकै गीतहरु अगाडि आओस् भन्ने हिसाबले म पछाडि बसेँ। नेपाली सुगम संगीतलाई जति योगदान नारान र गोपालले दिन सक्छन्, त्यसैमा मैले ध्यान केन्द्रित गर्नुपर्छ भन्ने लाग्यो। आफू पृष्ठभूमिमा बसेर यिनीहरुलाई सधैं अगाडि सारिराख्नुपर्छ, त्यसैमा मैले सन्तुष्टि मानेँ।
पुनर्मूल्यांकनका कुरा
राजनीतिक परिवर्तनको लहरसँगै हिजोआज विगतका कतिपय कुरामा पुनर्मूल्यांकन गर्ने कुरा उठ्ने गरेको पाइन्छ। नारानले कस्ता गीत गाए भनेर पनि खोज र मूल्यांकन गर्नुपर्ने कुरा आउने गरेको छ। समाज र मान्छेसँग उसका गीत कति जोडिन्छन् भनेर प्रश्न उठ्ने गर्छ। तर, नारान र गोपाल मरेर गइसक्दा यसरी पुनर्मूल्यांकन गर्ने हो भने पनि उनीहरुको पुनर्जन्म हुन्छ जस्तो लाग्छ, कृतिको रुपमा।
नारानको गायकीमा त पुनर्मूल्यांकन गर्ने कुरै छैन। अहिलेसम्म उसको छेउमा पर्ने गायक जन्मिएको छैन। नारानले अधिकांश गीत गोपालकै शब्द र संगीतमा गाएको छ। गोपालको गीत र संगीत यति बेजोड छन्, मान्छेको जीवनसँग निकै निकट छ। राष्ट्रियता, धर्म, प्रेम विषयको गीतमा नयाँ परिभाषा छ।
पुनर्मूल्यांकन गर्नु भनेको उनीहरुको गीत र संगीत कस्तो छ, जीवनसँग कति नजिक छ र जीवनलाई कसरी व्याख्या गरेको छ भन्ने कुरा नै बुझ्ने हो। त्यसबाट गोपाल र नारानको नाम मात्रै सुनेका र फाटफुट गीत सुनेका अहिलेको नयाँ पुस्ताले पनि उनीहरुको बारेमा थप बुझ्न पाउँछन्।
नारानले गाएका गीतमा जनताका कुरा कति छन् भन्ने प्रश्न गर्दा त्यो त कन्टेन्टमा देखिने कुरा हो। कम्युनिस्टहरुले भने जस्तो गरेर नारा गीतमा लेखिने हैन। ठाड्ठाडै नारा चाहिँ गीतमा हुँदैन। कलात्मक तरिकाले जीवनलाई परिभाषित गरिने हो। पुनर्मूल्यांकन गर्दा उधिने पनि उनीहरुको राम्रै पक्ष निस्किन्छ नि! उनीहरुले नराम्रो के गरेको छ र?
स्वर-सम्राट्को उपाधि
एक समय नारान र गोपाल दुवै संघर्षमा थिए। दुवैलाई जागिर ख्वाउनुपर्छ भनेर म प्रयास गरिरहेको थिएँ। पेमलासँग बिहे गरेर नारान पोखरामा बसिरहेको थियो।
जीविकोपार्जनमा संघर्षको अवस्थामा भए पनि गीतबाट नारान चर्चामा आइसकेको थियो। त्यही बेला मैले ०२७ साल भदौमा ‘धूपी’ नामको पत्रिकामा नारान र गोपालमाथि एउटा लेख लेखेँ, ‘प्रोमिथियसको आगो: अराकनीको धागो’। त्यही लेखमा मैले पहिलो चोटि स्वर-सम्राट् शब्दको प्रयोग गरेको थिएँ। लेखेको थिएँ, ‘फेवातालमा देखिने माछापुच्छ्रेको प्रतिविम्बमा आत्महत्या गरिरहेछ- स्वर-सम्राट्। प्रतिविम्बमा देखिने घोप्टिएको माछापुच्छ्रेको शिखर छुने प्रयास गर्छ- स्वर-सम्राट्। … … नारान नेपालीको एकमात्र गायक हो – स्वर-सम्राट्।’
त्यसबेला मेरो स्वार्थ पनि हो, नजिकको साथी भएकाले आत्मीयतावश र उसको खुबीलाई सम्मान गर्दै मैले ‘स्वर-सम्राट’ भनेको हुँ। लिखित रुपमै पत्रिकामा छ त्यो।
खासमा उसको स्वास्थ्य खानपिनले बिगारेको हो। खानपिनमा असाध्यै सौखिन मान्छे थियो। उसलाई खसीको मासु नभई नहुने, त्यसमा पनि ह्याकुला नै चाहिने। जिउ पनि ठूलो दारको भएकोले बढी खाने। एक किलो नै मासु ल्यायो भने दिनभरिमा एक्लैले चापचिप पार्ने।
त्यसबेला धेरै जना निस्किए, स्वर-सम्राट् आफूले भनेको भनेर। हुन त नारान, गोपाल र पेमला सबै जना बितिसकेपछि जसले जे बोल्दा पनि भयो, भेरीफाइ गर्ने ठावैं भएन अब।
तर, उसलाई स्वर-सम्राट् बनाउने हिसाबले मैले त्यो शब्द प्रयोग गरेकै होइन। पछि ऊ स्वर-सम्राट् होला भनेर पनि होइन। स्वर-सम्राट् भनाउने जिम्मेवार निकाय पनि म होइन फेरि। यो राजाले बक्सिस दिएको कुरा पनि होइन। यो वास्तवमा जनताले दिएको कुरा हो।
मिडियाले बनायो स्वर-सम्राट्
०४७ सालमा नारान बिरामी भयो। मधुमेह रोगले च्यापेपछि वीर अस्पतालमा भर्ना गरियो। त्यसबेला कृष्णप्रसाद भट्टराई प्रधानमन्त्री थिए। प्रधानमन्त्री अस्पताल आइराख्थे। गणेशमान सिंहहरु पनि हालचाल बुझ्न दैनिकजसो अस्पताल आउँथे।
मेरो र श्रीमतीको त बासै अस्पतालमा हुन्थ्यो। हामी खाना खान मात्र घरमा पुग्थ्यौं।
गणेशमानहरू अस्पताल पुगेर नारानको चर्चा गरिसकेपछि त्यो कुरा समाचारमा त आउने नै भयो। उनीहरुले अस्पताल भिजिटबारे मेन न्युज नै आउन थाल्यो। विशेष गरेर रेडियो नेपालको समाचार नै नारायणगोपालबाट सुरु हुन्थ्यो। अलि दिनपछि त रेडियोबाट उसको बारेमा स्वास्थ्य बुलेटिन नै आउन थाल्यो।
मान्छेहरूले जताततै नारायणगोपाल भनेर हेर्न र सुन्न थाले। त्यसले जनमानसमा संवेदना जाग्दै गयो। महिना दिनभन्दा बढी अस्पताल भर्ना भयो ऊ। त्यसरी जनताले बनाएको हो स्वर-सम्राट्। उसको निधन भएपछि शवयात्रामा व्यापक उपस्थिति देखियो। खासमा स्वर-सम्राट् भनेर स्वीकार गराउने काममा मिडियाको ज्यादै ठूलो हात छ। साँच्चै भन्ने हो भने मिडियाले नै बनाएको हो नारानलाई स्वर-सम्राट्।
उसको खास रोग मधुमेह भए पनि अरु असर देखियो। मिर्गौला फेल भो। हामीले मिर्गौला प्रत्यारोपण गराउन मद्रास लैजाने भनेर सबै तयारी गरेका थियौं। त्यसमा वसन्त चौधरीको अग्रसरता थियो। त्यही बेला नारानलाई हृदयाघात भएपछि स्थिति कठिन भयो। त्यो ठीक होला भनेर कुर्दाकुर्दै मस्तिष्काघात भयो। त्यसपछि स्वास्थ्य फर्कन सम्भव भएन।
खासमा उसको स्वास्थ्य खानपिनले बिगारेको हो। खानपिनमा असाध्यै सौखिन मान्छे थियो। उसलाई खसीको मासु नभई नहुने, त्यसमा पनि ह्याकुला नै चाहिने। जिउ पनि ठूलो दारको भएकोले बढी खाने। एक किलो नै मासु ल्यायो भने दिनभरिमा एक्लैले चापचिप पार्ने।
अर्को खान्की थियो, गुँदपाक। गुलियो र चिल्लो त्यस्तै हुने त्यो त विषै भयो। ऊ न्युरोड गएर गुँदपाक किनेर खाँदो रहेछ। हामी त दैनिक साँझपख न्युरोड पिपलबोटमै हुन्थ्यौं। तर, ऊ त्यस्तो न्युरोड आउने मान्छे होइन। तर, केही दिनदेखि अलि लगातार आउन थाल्यो ।
मोटरसाइकलमा आउने, बाइक पिपलबोटकै एक छेउमा राख्ने, हामीसँग एकछिन कुरा गरेको जस्तो गर्ने अनि सुइत्त न्युरोड गेटतिर जाने। मलाई शंका लाग्यो।
एकदिन मैले उसको आँखा छल्दै पिछा गरेँ। ऊ गेटैनेरको कृष्ण गुँदपाक भण्डारमा गयो र एउटा चिज हातमा पोको पारे टुँडिखेलतिर लाग्यो। पसलेलाई सोध्दा उसले एक पाउ गुँदपाक किनेको थाहा पाएँ। उसको नित्य कर्म नै रहेछ यो।
त्यसपछि टुँडिखेलमा महाँकालको पूर्वपट्टि बसेर उसले त्यो एक पाउ गुँदपाक सिध्यायो। त्यति नै बेला मैले उसलाई समातेँ। भोलिपल्टदेखि ऊ साँझपख न्युरोड आउन छाड्यो।
प्रस्तुति : जोतारे धाइबा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।