बैतडी- पछिल्लो समय बैतडीमा बालविवाहको मुख्य कारण सञ्चारका साधन तथा सामाजिक सञ्जाल बन्न थालेका छन्।
फेसबुक, मोबाइल लगायत सञ्चारका साधनले गर्दा बालविवाह न्युनीकरणमा समस्या बढ्दै गएको किशोरी अभियन्ताहरुको भनाइ छ। आधारभूत तहदेखि नै किशोरकिशोरीको हातहातमा मोबाइल हुने भएकाले सञ्चारको दुरुपयोग गर्दा यो समस्या निम्तिएको अभियन्ताहरुले बताएका हुन्।
बैतडीमा फोन र फेसबुकको माध्यमबाट सम्पर्क गरेर किशोरीहरु भाग्ने चलन बढिरहेको बालबालिकाका क्षेत्रमा काम गर्ने संघसस्थाले जनाएका छन्। अब बैतडीका किशोरीलाई १२ कक्षा नपढुन्जेलसम्म मोबाइल बोक्न बन्देज गर्नेगरी स्थानीयस्तरमा कानून बनाउनुपर्ने युवा सञ्जाल बैतडीका सदस्य सपना रानामगरले बताइन्।
सञ्चारका साधनले बालविवाह न्युनीकरणमा सक्रिय किशोरीहरु पनि भागेर जाने गर्दा झनै समस्या भएको रेजिना टेलरले बताइन्। 'पछिल्लो समय जिल्लामा सक्रिय किशोरी नै फोन र फेसबुकबाट कुरा गरेर भागेर जाने चलन रहेको छ,' उनले भनिन्।
अहिले जिल्लामा सबैभन्दा बढी किशोरी मोबाइलका कारण बलात्कारको सिकार हुनुपरेको समेत उनले बताइन्।
बैतडी भारतसँगै जोडिएको जिल्ला भएकाले फोनमा फेसबुकमा कुरा गरेर भागेर भारत जानेहरु बढेका छन्। बैतडीको सीमा नाका झुलाघाटबाट चालु आर्थिक वर्षमा हालसम्म २४ जना किशोरकिशोरीको उद्धार गरेको प्रहरीले जनाएको छ।
यसैबीच, बैतडीमा बालविवाह अन्त्यका लागि रणनीतिक कार्ययोजना पनि तयार पारिएको छ। सन् २०३० मा नेपाललाई बालविवाह मुक्त घोषणा गर्ने सरकारको लक्ष्यअन्तर्गत रणनीतिक कार्ययोजना तयार पारिएको हो। संयुक्त राष्ट्रसंघीय जनसंख्या कोषका जिल्ला कार्यक्रम अधिकृत गणेश शाहीले जानकारी दिए।
बैतडीमा किशोरी सञ्जाल, किशोरी समूह, किशोरी वृत गठन गरी बालविवाह न्युनीकरण गर्नका लागि किशोरी सक्रिय रहेका छन्।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।