बेँसीसहर, लमजुङ- लमजुङ–गोरखा सिमानामा पर्ने मनास्लु आरोहण गरेर लमजुङबाट बाहिरिने पर्यटकको संख्यामा वृद्धि भएको छ।
मनास्लु आरोहणको लागि गोर्खाबाट प्रवेश गरेका पर्यटक लमजुङबाट बाहिरिनेको संख्यामा वृद्धि भएको हो।
८ हजार १६३ मिटरको उचाइमा रहेको मनास्लु आरोहण गर्नेमध्ये अधिकांश पर्यटक थोरङला पास गर्न जाने गर्दछन्। तर पछिल्ला वर्षमा थोरङला पास नगरी मनाङको धारापानीबाटै लमजुङ भएर बाहिरिनेको संख्यामा वृद्धि भएको पर्यटन सूचना केन्द्र खुदीका कर्मचारी वासुदेव न्यौपानेले बताए।
पर्यटन सूचना केन्द्रका अनुसार यस वर्ष ५ हजार हाराहारीमा पर्यटक लमजुङबाट बाहिरिएका छन्। गत अक्टोबर महिनामा मात्रै एक हजार ४५१ पर्यटक लमजुङबाट बाहिरिएको तथ्यांक छ। सोमध्ये केही पर्यटक भने लमजुङबाट नै प्रवेश गरी मनाङ पुगेर फर्किएका छन्।
मनास्लु हिमाल आरोहणका लागि लमजुङबाट जाने अनुमति दिइएको भए पनि खासै पर्यटक आउने गरेका छैनन्। मनास्लु आरोहणको लागि यहाँबाट भएर आरोहण गर्न बाटो छोटो र सजिलो भए पनि प्रचारप्रसार हुन नसक्दा पर्यटक आगमनमा वृद्धि हुन नसकेको पर्यटन व्यवसायी बताउँछन्।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।