बैतडी- बैतडीमा महिला तथा बालबालिका माथि हिंसा बढ्दै जानुको मुख्य कारण मदिरा बनेको छ।
महिला हिंसाको मुख्य कारण मदिरा बनेको जिल्लाका स्थानीय तहका उपप्रमुख र उपाध्यक्षले बताएका छन्। जिल्लाका १० वटै स्थानीय तहमा सबैभन्दा बढी मदिराको कारोबार बढेकाले ठूलो समस्या भएको शिवनाथ गाउँपालिकाकी उपाध्यक्ष कुस्मा चन्दले बताइन्।
आफूले स्थानीय तहको चुनावको बेला भोट माग्दा मदिरा बन्द गर्ने आश्वासन दिएको भए पनि समाजमा काम गर्न समस्या भएको उनले बताइन्। शिवनाथका महिला रक्सीका कारण निकै पीडत बनेकाले उनीहरुको आवाज सुन्दै मदिरा निषेध गर्न खोज्दा उल्टै गाउँपालिकाको नाममा मुद्दा परेको उनको भनाइ छ।
'समाजमा राम्रो काम गर्न निकै चुनौती रहेछ,' उनले भनिन्, 'दिनभरि महिला बारीको काममा व्यस्त भए पनि साँझ घरमा ढुक्कसँग बस्न पाएका छैनन्।'
सिगास गाउँपालिकाकी उपाध्यक्ष द्रोपती चन्द मदिराका कारण महिलाले निकै कष्ट खेपिरहेको बताउँछिन्। मदिराका कारण महिला तथा बालबालिकामाथि हिंसा बढ्दै गएकाले उनीहरुले नै अभियान सञ्चालन गरेको उनले बताइन्।
डिलासैनी, सुर्नयाँ गाउँपालिका लगायत जिल्लाका अन्य स्थानीय तहमा समेत मदिराका कारण महिला हिंसामा परेका छन्।
'महिलामाथि हुने हिंसामा अझै कमी आउन सकेको छैन,' दोगडाकेदार गाउँपालिकाकी उपाध्यक्ष पार्वर्ती कार्कीले भनिन्।
जिल्ला प्रहरी कार्यालयका अनुसार महिलामाथि हुने हिंसा धेरैजसो मिलापत्रमा टुंग्याउने गरिएको छ। आफूमाथि भइरहेको हिंसाका बारेमा अझै पनि महिला खुलेर बोल्न नसक्ने र प्रहरीमा पुगेका मुद्दा पनि अधिकांश मिलापत्रमा टुंगिने गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
गत आर्थिक वर्षमा जिल्लामा महिलामाथि हुने घरेलु हिंसाका ८० भन्दा बढी मुद्दा दर्ता भएको भए पनि सबै मिलापत्रमा टुंगिएको प्रहरी नायब उपरीक्षक हेरम्ब शर्माले जानकारी दिए। महिलामाथि हुने घरेलु हिंसा न्युनीकरणका लागि परिवारबाटै सचेतना अभियान सञ्चालन गर्नुपर्नेमा महिला अधिकारकर्मीले जोड दिएका छन्।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।