काठमाडौं- नेपाली कांग्रेसले हाल निर्माणाधीन तथा कार्यान्वयनको चरणमा रहेका राष्ट्रिय गौरवका आयोजनालाई ५ वर्षभित्र पूरा गर्ने योजना बनाएको छ।
कांग्रेसले दोस्रो चरणको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको पूर्वसन्ध्यामा पार्टीको आर्थिक समृद्धि र विकास समन्वय उपसमितिका संयोजक विनोद चौधरीले प्रस्तुत गरेको सामाजिक तथा आर्थिक विकासको मार्गचित्रअनुरुप उक्त योजना बनाएको हो।
२०४८ सालमा कांग्रेस सरकारले लिएको उदारीकरण र खुला बजार अर्थनीतिका कारण आर्थिक–सामाजिक क्षेत्रमा व्यापक सुधार आएको भन्दै त्यहीअनुसार पार्टीले आगामी ५ वर्षको आर्थिक विकासको मार्गचित्र प्रस्तुत गरेको छ।
मार्गचित्रमा नेपाल हुँदै भारत र चीन जोड्ने ५ वटा द्रुतगतिका उत्तर दक्षिण सडक निर्माण गरी उत्पादित वस्तुलाई निर्यात गरी मुलुकको आर्थिक विकासलाई अगाडि बढाउन मद्दत पुग्ने उल्लेख गरिएको छ। कर्णाली लोकमार्ग, मध्यपहाडी लोकमार्ग र उक्त लोकमार्गसँगै रहेका स्मार्ट सिटी निर्माण गर्ने योजना कांग्रेसले अगाडि सारेको छ।
यस्तै काठमाडौंको बाहिरी चक्रपथ निर्माण गर्दा भित्री सहरको जनघनत्व वृद्धि भई अव्यवस्थित सहरी करण नहोस् भन्न सहरी बस्तीको फैलावट बढाउनका लागि स्याटेलाइट एवं स्मार्ट सिटीको अवधारणा ल्याउनुपर्ने कांग्रेसले जनाएको छ।
कांग्रेसले बाह्य मुलुकका पर्यटक नेपालमा भित्र्याउन तथा नेपाली नागरिक सहज ढंगले विदेश जानका लागि निजगढ, पोखरा र भैरहवालाई अन्तर्राष्ट्रिय विमानस्थलका रुपमा निर्माण कार्य तीव्र गतिमा अगाडि बढाउन महत्वपूर्ण भूमिका खेल्ने मार्गचित्रमा उल्लेख छ।
पूर्व पश्चिम लोकमार्गलाई कम्तीमा ६ लेनको बनाउने, हुलाकी सडकको कामलाई तीव्र बनाई ३ वर्षभित्र सञ्चालन गर्ने तथा पूर्व पश्चिम रेलमार्गको डिपीआर सम्पन्न गरी रेल वे लिक बिछ्याउने कामलाई तीव्रता दिने मार्गचित्रमा जनाइएको छ।
नेपालको कुल जनसंख्याको ६१ प्रतिशत कृषि पेशामा आश्रित रहेको वर्तमान अवस्थामा कांग्रेसले ५ वर्षभित्र तरकारी, माछा, मासु, दुग्ध पदार्थ, फलफूल, मह, स्याउ, च्याउ, चिया, कफी अदुवा लगायतका नगदेबालीलाई निर्यात गर्ने गरी काम गर्ने जनाएको छ।
मार्गचित्रमा मुलुकमा लगानी अभिवृद्धि गरेर आगामी ५ वर्षमा २ अंकले आर्थिक वृद्धिदर हासिल गर्ने, आन्तरिक र बाह्य लगानी आकर्षण गर्ने, विशेष आर्थिक क्षेत्र (सेज) को अवधारणा कार्यान्वयनमा ल्याउने र उद्योग स्थापनाको समयमा लगानीकर्तालाई नगद प्रोत्साहन दिने अवधारणा उल्लेख छ।
यस्तै पिछडिएको प्रदेशमा विशेष आर्थिक क्षेत्र घोषणा गर्ने, विदेशी लगानीकर्तालाई लगानीको वातावरण बनाउन कानुनमा सुधार ल्याउने, पर्यटकीय पूर्वाधारमा सुधार ल्याउने, बाह्य पर्यटक धेरैभन्दा धेरै भित्र्याउनका लागि अन्तर्राष्ट्रिय विमानस्थललाई बढाउने लगायत कुरा समेटिएका छन्।
कांग्रेसले मार्गचित्रमा जलविद्युतका ठूला आयोजनालाई कार्यान्वयनमा ल्याउनका लागि विदेशी लगानीकर्तालाई आकर्षित गर्नुका साथै स्वदेशी लगानीकर्तालाई प्रोत्साहन गर्ने नीति अगाडि सारेको छ।
मार्गचित्रमा २०४८ देखि हालसम्म शिक्षा, स्वास्थ्य, यातायात, रोजगारी, उद्योगलगायत क्षेत्रमा भएको सुधारलाई समेत समावेश गरिएको छ।
विदेशमा कमाएको रकम नेपालमा सुरक्षित एवं राम्रो प्रतिफल पाउने गरी लगानी गर्ने विश्वास दिलाउँदै क्रमशः नेपालमा रोजगारी सिर्जना गरी वैदेशिक रोजगारमा जाने युवाको संख्या घटाउँदै लैजाने नीति मार्गचित्रमा उल्लेख छ।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।