सुर्खेत– पञ्चपुरी ४ का ६९ वर्षीय पदम सुनारलाई अहिले पनि सम्झना छ, ०४८ को आम निर्वाचनको बेला भोट माग्दै आएका सबैजसो उम्मेदवारले भनेका थिए, ‘बड्डिचौरदेखि गुटु जोड्ने बाटो पक्की बनाउँछौं, त्यसलाई डोटीसम्म जोड्छौं।’
उक्त चुनावमा दुई वटा मात्रै निर्वाचन क्षेत्र रहेको सुर्खेतको निर्वाचन क्षेत्र नम्बर २ बाट १६ हजार २ सय ७४ मत प्राप्त गरी नेपाली कांग्रेसका शिवराज जोशी विजयी भए। त्यसलगत्तै ०४९ सालमा उनी यातायात सहायक मन्त्री समेत भए।
त्यतिबेला पदम सुनारलाई लाग्यो, ‘आफूले दिएको मत सदुपयोग हुनेभयो, बड्डिचौर–गुटु सडक बन्नेभयो।’ तर, २६ वर्ष बितिसक्दा पनि उक्त सडकको अहिले पनि कन्तबिजोग छ। सडक कालोपत्रे हुनु त परको कुरा, सामान्य खाल्डाखुल्डी समेत अहिलेसम्म पुरिएको छैन।
‘सडक बनाउँछौं भनेर भोट माग्ने नेता नै यातायात मन्त्री भए, तर सडक जस्ताको त्यस्तै छ’ सुनारले भने, ‘केही दिनअघि दम बढेर उपचारका लागि गाडी चढेर वीरेन्द्रनगर गएँ, झन्डै परान गएन बाटोमै।’
यो सडकमा गाडी चढेर यात्रा गर्नु भनेको सुविधाभन्दा सास्ती हुने गरेको उनको अनुभव छ।
उनै शिवराज जोशी त्यसपछि ०५१ र ०५६ मा पनि सोही निर्वाचन क्षेत्रबाट निर्वाचित भए। जोशी ०५५ मा जनसंख्या तथा वातावरण राज्यमन्त्री र ०५७ मा सूचना तथा सञ्चार राज्यमन्त्री समेत भए। तर, चुनावअघि प्रतिबद्धता गरेअनुसार न सडक सुधार गर्न पहल गरे, न विद्युतीकरणका लागि। पटकपटक निर्वाचित भएर पनि आफ्नो क्षेत्रका लागि कुनै काम नगरेको भन्दै असन्तुष्ट बनेका मतदाताले ०६४ को संविधानसभा निर्वाचनमा भने जोशीलाई पराजय चखाए।
सुनार भन्छन्, ‘पटकपटक अवसर पाउँदा पनि काम नगर्नेलाई जनताले नै सजाए दिए।’
कुरा शिवराज जोशीको मात्रै पनि होइन, तीन पटक निर्वाचित जोशी चौथो पटक पराजित हुँदा ०६४ मा नेकपा माओवादीका नरबहादुर विष्ट निर्वाचित भए। उनको चुनावी एजेन्डामा पनि सोही सडक प्राथमकितामा थियो। जसलाई कालोपत्रे गर्ने भनिएको थियो। विष्टले आफू सांसद रहँदासम्म सडक कालोपत्रे गराउन सकेनन्। ०७० को दोस्रो संविधानसभा निर्वाचनमा भने उनी पराजित भए।
०७० मा विजयी नेपाली कांग्रेसका तप्तबहादुर विष्टको चुनावी नारामा पनि बड्डीचौर–गुटु सडक कालोपत्रे गर्ने योजना छुटेन। तर, ४ वर्ष बितिसक्दा पनि सडकको न स्तरोन्नति गरियो, न कालोपत्रे।
०४८ यताका हरेक निर्वाचनमा प्रत्येक उम्मेदवारको चुनावी नारा बन्ने गरेको बड्डीचौर–गुटु सडकको अवस्था अहिले पनि दयनीय छ। पश्चिम सुर्खेतलाई जोड्ने प्रमुख सडक भएर पनि सधैं बेवास्ताको सिकार हुँदै आएको छ। जसका कारण त्यस क्षेत्रका नागरिकले झन्डै तीन दशकदेखि सास्ती बेहोर्दै आएका छन्।
डोटीसहित पश्चिम सुर्खेतलाई सदरमुकाम वीरेन्द्रनगरसँग जोड्ने प्रमुख सडक मानिएको बड्डीचौर–गुटु–बेनीघाट सडक वर्षौंदेखि स्तरोन्नतिको पर्खाइमा छ। सडक घाम लागे धूलाम्मे र पानी परे हिलाम्य हुन्छ। अनगिन्ती खाल्डाखुल्डी रहेको सडकमा कतिपय स्थानमा निकै साँघुरो छ। सवारीसाधन सञ्चालन हुँदा उड्ने धूलोले सडक आसपासका घरभरि धूलो भरिन्छ।
पश्चिम सुर्खेतका तीन वटा स्थानीय तहका नागरिकले आफ्नो जीवनस्तर उकास्ने पूर्वाधारको रुपमा लिएको उक्त सडक २६ वर्षदेखि केवल चुनावी नारा मात्रै बन्दै आएको छ। सडकको नाममा हरेक वर्ष बजेट विनियोजन हुने गरे पनि केही खाल्डाखुल्डी पुर्दैमा बजेट सकिने गरेको स्थानीय जगदीश महताराले बताए।
‘न सरकारी निकायले यो सडकलाई हेर्यो न यहाँका जनप्रतिनिधिले केही गरे’, महताराले भने, ‘यो सडक चुनावी नारा मात्रै बन्ने गरेको छ। काम भने कहिल्यै भएन, कसैले गरेनन्।’
प्रदेश र प्रतिनिधिसभाको निर्वाचन नजिकै आइपुग्दा उम्मेदवारहरु मतदाता रिझाउन विकास–निर्माणका आश्वासन बाँडिरहेका छन्। यसपटक पनि उक्त बड्डीचौर–गुटु–बेनीघाट सडक हरेक उम्मेदवारको प्राथकिताबाट छुटेको छैन। तर, पदम र जगदीश भने जोसुकैले जिते पनि यो केवल चुनावी आश्वासनमै सीमित हुने ठान्छन्।
‘अहिलेसम्म निर्वाचित हुने सबैले नारा मात्रै बनाए, अब पनि त्यही हुने त होला’, उनीहरु दुवैको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।