विराटनगर- नेकपा एमालेका अध्यक्ष केपी ओलीले कांग्रेसका संस्थापक नेता 'बिपी कोइरालाको सपना पूरा गर्ने' उद्घोष गरेको भोलिपल्ट कांग्रेस नेता डा शेखर कोइरालाले ओलीलाई आफ्नो पार्टीमा प्रवेश गर्न आग्रह गरेका छन्।
नेपाल यातायात मजदुर संघले सोमबार बिहान विराटनगर बसपार्कमा गरेको कार्यक्रममा कोइरालाले ओली कांग्रेसमा प्रवेश गरे प्रधानमन्त्री बनाउन पहल गर्ने बताए। ‘केपी ओलीज्यु नेपाली कांग्रेसमा प्रवेश गर्नुस्। तपाईंलाई प्रधानमन्त्री बनाउन म पहल गर्नेछु,’ उनले भने।
उनले एमालेलाई लोकतान्त्रिक पार्टी बनाउन कांग्रेसले २०४६ सालदेखि अनवरत प्रयास गरेको तर कुकुरको पुच्छर १२ वर्ष ढुंग्रोमा राख्दा पनि सोझो नभए जस्तै एमालेले लोकतान्त्रिक आचरणलाई व्यवहारमा नउतारेको दुःख व्यक्त गरे। ‘एमालेलाई लोकतान्त्रिक पार्टी बनाउन २८ वर्षदेखि हामीले अनवरत प्रयास गर्यौं। तर, ढुंग्रोमा राखेको कुकुरको पुच्छरझैं उहाँहरू सुध्रिनुभएन,’ शेखरले कोणसभालाई सम्बोधन गर्दै आरोप लगाए।
उनले आफूसँग प्रतिस्पर्धा गरिरहेका लालबाबु पण्डिततर्फ इसारा गर्दै आफ्नो क्षेत्रमा कुनै विकास नगरेका कारण उनी अहिले क्षेत्र परिवर्तन गरेर आफूसँग लड्न आएको बताए। ‘उहाँ शेखरले केही गरेन भन्नुहुन्छ। आफ्नो क्षेत्रमा केही नगरेपछि यता आउनुभएको छ,’ उनले भने।
आफ्नो कार्यकालमा बसपार्क निर्माण कार्य द्रुतगतिमा सुरु भएको, विराटनगरमा व्यवस्थित नाली बनाउने अभियानको थालनी भएको र नाली बनाउने कार्य सम्पन्न भइसकेको अवस्थामा बाटो निमार्णको कार्य तीव्र भएको कोइरालाले बताए। एकल महिलाका लागि रोजगारीमूलक काम, सरकारी स्कुलमा स्तरीय शिक्षाको थालनी र विराटनगरको एक मात्र क्षेत्रीय अस्पताललाई सुविधा सम्पन्न बनाउने अभियान निर्वाचन लगत्तै सुरु हुने उनले आश्वासन दिए।
नेपाली कांग्रेसको नेतृत्वमा मात्र विराटनगर प्रदेशको राजधानी बन्ने दाबी गर्दै उनले थपे, ‘उहाँहरू कहिले इटहरी भन्नुहुन्छ, कहिले कता। हामीले लिखित प्रतिबद्धता नै गरिसकेका छौं।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।