भद्रपुर- प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि चुनावी मैदानमा उत्रिएका झापाका साना १० राजनीतिक दलले एकैथलोबाट आफ्ना चुनावी एजेन्डा प्रस्तुत गरेका छन्।
सबैखाले विभेदको अन्त्य गरी समानता र मुलुकको समृद्धि उनीहरुको मुख्य एजेन्डा रहेको छ। फरक विचार र आन्दोलनमा रहेका ती पार्टीका एजेन्डामा पनि विविधता भेटिएको छ।
संघीयता खारेज, संसदीय व्यवस्था भंगदेखि जनवादी व्यवस्था लागू गर्नेसम्मका ती दलका एजेन्डा छन्। भ्रष्टाचारमुक्त, कृषिक्रान्ति, वैदेशिक हस्तक्षेपको अन्त्य, शिक्षा र रोजगार सबैका साझा एजेन्डा छन्। राजनीतिलाई व्यापार र पेसा नभई सेवा गर्ने आधार बनाउनुपर्नेमा साना दलको जोड छ। ती दलका नेताहरुले शान्ति सुरक्षाको उचित व्यवस्थासहित निर्वाचनलाई निष्पक्ष, मितव्ययी र मर्यादित बनाउने तथा आफूहरुले शान्तिपूर्ण गतिविधि गर्ने लगायतका चारबुँदे साझा प्रतिबद्धतासमेत व्यक्त गरेका छन्।
चार कुनाभित्र हलो चुनाव चिह्न लिएर झापाबाट प्रतिनिधिसभामा प्रत्यक्ष ५ र समानुपातिक ८ उम्मेदवारसहित मैदानमा उत्रिएको एकीकृत राप्रपा राष्ट्रवादीका जिल्ला संयोजक लक्ष्मी ओडारी, उम्मेदवार बृजकिशोर ठाकुरले राजसंस्था सहितको हिन्दू राष्ट्र आफ्ना प्रमुख एजेन्डा भएको बताए।
तराजु चुनाव चिह्न लिएर प्रतिनिधिसभामा प्रत्यक्ष ४, समानुपातिक २, प्रदेशमा प्रत्यक्ष ४ र समानुपातिक एक उम्मेदवारसहित मैदानमा उत्रिएको विवेकशील साझा पार्टीका तर्फबाट डा नवीन चापागार्इं, चित्रांगत तिम्सिना, विष्णु आचार्य र सन्तोष घिमिरेले भ्रष्टाचारको अन्त्य तथा मुलुकको समृद्धिमा जोड दिए।
हँसिया र तारा चुनाव चिह्नसहित प्रतिनिधिसभामा प्रत्यक्ष २, समानुपातिक ६, प्रदेशमा प्रत्यक्ष २, समानुपातिक ८ उम्मेदवार चुनावी मैदानमा उतारेको नेकपा माले पार्टीका तर्फबाट पोलिटब्युरो सदस्य एवम् पूर्वमन्त्री खगेन्द्र प्रसाईंले ५ प्रदेशको व्यवस्थासहित संविधान कार्यान्वयनमा जोड दिए।
देशभक्त गणतान्त्रिक मोर्चा नेपाल, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, राष्ट्रिय जनमोर्चा पार्टी, मंगोल नेशनल अर्गनाइजेशन, राष्ट्रिय जनता पार्टी, नेपाल जनता पार्टी, राष्ट्रिय जनमुक्ति पार्टीका नेताहरुले एजेन्डामाथि प्रस्ट पारेका थिए।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।