तेह्रथुम- तेह्रथुमको आठराई गाउँपालिकाका सात वटा आधारभूत विद्यालय नमुना विद्यालय बन्ने भएका छन्। नमुना विद्यालय बनाउन देउराली सोसाइटी, तेह्रथुमले अभियान सञ्चालन गरेको छ। विद्यालय स्रोत केन्द्रले छनोट गरेका विद्यालयसँग सोसाइटीले साझेदारी गरी अभियानलाई तीव्रता दिएको हो।
विद्यालयमा बालमैत्री वातावरण तयार गरी नमुना विद्यालय बनाउन समुदायका शिक्षक, अभिभावक र सरोकारवालासँग छलफल गरी अभियान सञ्चालन गरिएको देउराली सोसाइटी तेह्रथुमका कार्यक्रम अधिकृत खगेन्द्र सापकोटाले बताए। यसका लागि सम्बन्धित विद्यालयले २५ प्रतिशत र देउराली सोसाइटीको ७५ प्रतिशत सहयोग हुने गरी साझेदारी भएको छ।
बालमैत्री वातावरण तयार गर्न वाइड बोर्ड, कार्पेट, फिल्टर, बालमैत्री कक्षा व्यवस्थापन, बालमैत्री खानेपानी धारा निर्माण लगायतका काम भइरहेको देउराली सोसाइटी तेह्रथुमका आठराईस्थित सामाजिक परिचालक सुभाष कन्दङवाले जानकारी दिए।
नमुना विद्यालय निर्माणका लागि विद्यालयको अवस्थाअनुसार रु नौ हजारदेखि १५ हजारसम्म सहयोग देउराली सोसाइटीले गरेको छ।
आठराई गाउँपालिकाको पुरानागाउँ आधारभूत विद्यालय सङ्क्रान्तिबजार, सिंहवाहिनी आधारभूत विद्यालय खाम्लालुङ, सरस्वती आधारभूत विद्यालय ह्वाकु, रन्दल आधारभूत विद्यालय इवा, सरस्वती आधारभूत विद्यालय छातेढुङ्गा, जलकन्या आधारभूत विद्यालय चुहानडाँडा र महेन्द्रोदय आधारभूत विद्यालय थोक्लुङ नमुना विद्यालय बन्ने भएका हुन्।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।