बाबियाचौर, म्याग्दी- म्याग्दीका बाढीपीडित र पहिरोपीडित बस्तीमा विद्युत् सुविधा नभएपछि उनीहरु अन्धकारमा रात कटाउन बाध्य भएका छन्। रघुगंगा गाउँपालिका–१ बेगखोलामा बाढीपीडित र २ नम्बरमा पर्ने बैंसरीमा पहिरोपीडित बस्दै आएका छन्।
उनीहरु बस्ने टहरामा विद्युत् र खानेपानीको प्रमुख समस्या छ। विद्युत् सुविधा नहुँदा छिमेकी गाउँमा गएर उनीहरु मोबाइल चार्ज गर्ने गर्छन्। दाताले टहरामा जडान गरेको सोलार टुकीले काम गर्न छाडेपछि मट्टितेलको टुकीको भरमा रात कटाउन बाध्य हुनुपरेको पहिरोपीडित भेमबहादुर गर्बुजाले बताए। खानेपानी र विद्युत् अभावमा दैनिक जीवनयापन कष्टकर बनेको उनको भनाइ छ।
२०७२ जेठ १० गते काफलडाँडाको भीरबाट खसेको पहिरोले भगवतीको बैँसरी गाउँ पुरिँदा २७ परिवार घरबारविहीन भएका थिए। यसैगरी २०७३ भदौ १७ गते राति बेगखोलामा आएको बाढीले बस्ती बगाउँदा ११ घर विस्थापित भएका थिए। टहरामा बस्दै आएका पहिरो र बाढीपीडितले स्थायी बसोबासको व्यवस्था मिलाउन माग गर्दै आएका छन्।
बैंसरीको घर पुरिएपछि पिप्लेको राहुपारेस्थित बेनी–जोमसोम सडकको छेउमा रहेको सामूहिक टहरामा सात परिवार बस्दै आएका छन्। चार परिवार पहिरोले पुरिएको पुरानै ठाउँमा अस्थायी टहरा बनाएर बसेका छन्। केही बेनी, पोखरा गएर कोठा भाडा लिएर बसेका छन्।
अन्य ठाउँमा घरजग्गा नभएका पीडितलाई अहिले बसोबास गरेकै अथवा नयाँ उपयुक्त ठाउँ खोजेर स्थानान्तरण गर्नुपर्ने उनीहरुको माग छ। बेगखोलाको बाढीले बसोबास गर्दै आएको घरजग्गा बगाएपछि त्यहाँका ११ परिवार स्थानीय एक व्यक्तिको पाखो जग्गामा पालको टहरा हालेर बसेका छन्।
तत्कालीन अवस्थामा प्रशासन, रेडक्रस र विभिन्न संघसंस्थाले आकस्मिक राहत सामग्री उपलब्ध गराए पनि त्यसपछि कसैले वास्ता नगरेका बाढीपीडित अतिमाया बुढाथोकीले बताइन्। उनीहरुको बसोबासका लागि बेगखोला कल्याणकारी समाज बेलायतले नगदसमेत जुटाएको भए पनि जग्गा अभावमा काम अघि बढ्न सकेको छैन।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।