कोलम्बो- श्रीलंका र दक्षिणी भारतमा आएको आँधीका कारण मृत्यु हुनेको संख्या २६ पुगेको छ।
श्रीलंकातर्फ १३ जना र भारतको केरला र तमिल नाडुमा उत्तिकै संख्यामा मृत्यु भएको समाचारमा जनाइएको छ ।
आँधीपछि आएको बाढीका कारण हजारौं जना प्रभावित भएको स्थानीय अधिकारीले जनाएका छन्। आँधी प्रभावित क्षेत्रमा विद्युत्, टेलिफोन सेवा काटिएर समस्या भएको छ। मौसमविद्हरुले अझै धेरै ठूलो वर्षा हुनसक्ने अनुमान गरेका छन्।
भारी वर्षा भएका कारण दक्षिणी भारतका नदीको पानीको सतह अझै माथि आउने चेतावनी दिइएको छ।
श्रीलंकाको प्रकोप व्यवस्थापन केन्द्रले १६ जिल्लाका ७७ हजार नागरिक आँधीबाट प्रभावित भएको जनाएको छ । प्रभावितमध्ये सबैभन्दा धेरै गाल्ले जिल्लाका छन्। प्रभावित भएकामध्ये झन्डै चार हजार जनालाई उद्धार शिविरमा राखिएको केन्द्रले जनाएको छ ।
अधिकारीले अझै पनि प्राकृतिक प्रकोपको खतरा रहेको भन्दै सतर्क अवस्थामा रहन सूचना जारी गरेका छन्। (रासस/एएफपी)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।