काठमाडौं– ललितपुर क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा निर्वाचनका स्वतन्त्र उम्मेदवार गुणबहादुर थापाले आफूले भयरहित वातावरणमा चुनाव प्रचार गर्न नपाएको बताएका छन्।
चुनाव प्रचारप्रसारमा एमालेसहित वाम गठबन्धनका कार्यकर्ताले अवरोध गरेको थापाले आरोप लगाएका छन्। आइतबार पत्रकार सम्मेलन गर्दै थापाले आफूलाई राजनीतिक अधिकारबाट वञ्चित गरिएको भन्दै शान्ति–सुरक्षाको प्रत्याभूति दिलाउन सरकारसँग माग गरेका छन् ।
मिटर ब्याज घटनामा पूर्व डिआइजी नवराज सिलवालबाट पीडित रहेको दाबी गर्ने थापाले ललितपुर १ मा सिलवाल विरुद्ध उम्मेदवारी दिएका छन्। थापाले चुनावमा न्यायको पक्षमा फैसला गर्न आम मतदातासँग अपिल समेत गरेका छन्।
‘प्रहरी संगठनमा रहुन्जेल नवराज सिलवालले मलाई अत्याचार र शोषण गरिरहे, झुटो मुद्दा लगाएर १५ महिना जेल राखे’, विगत ९ वर्षदेखि आफू न्यायको लागि लडिरहेको भन्दै उनले थपे, ‘नवराज र गुणबहादुरमध्ये एक जना अपराधी छ, दोषी छुट्याएर कारबाही होस्।’
थापाले न्यायको पक्षमा जनताले गर्ने फैसला आफूलाई मान्य हुने बताए।
थापाले चुनाव प्रचारका क्रममा एमालेका कार्यकर्ताबाट आफूलाई अवरोध गरिनुका साथै र सांघातिक आक्रमणको प्रयास समेत भएको बताए। उनले समान हैसियतमा चुनाव लड्दा प्रहरी प्रशासनले आफूमाथि विभेद गरेको आरोप लगाए।
उनले भने, ‘म पनि विकास गर्छु भनेर चुनावी मैदानमा छु। तर, कार्यकर्ता लगाएर ममाथि आक्रमणको प्रयास भएको छ। प्रहरी समेत सिलवालको पक्षमा उभिएको छ।’
सिलवालसँग ऋण लिएसँगै मिटर ब्याज प्रकरणले आफ्नो आर्थिक र सामाजिक जीवन बर्बाद गरेको भन्दै थापाले ललितपुर १ मा स्वतन्त्र उम्मेदवारी दिँदै सिलवाललाई राजनीतिक मैदानमा चुनौती दिएका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।